धरान / धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफै खोप खरिद गर्ने भएको छ । खोप खरिदको अनुमतिका लागि मेयर तिलक राईले आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्रचार गर्नु भएको छ ।

संघीय तथा प्रदेश सरकारबाट पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेकोले धरान उपमहानगरपालिका भित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै खोप आफै खरिद गर्ने तयारी गरिएको मेयर राईले जानकारी दिनु भयो ।

मन्त्रालयलाई लेखिएको पत्रमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार, काठमाडौं, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं. प्रदेश विराटनगरमा बोधार्थ उल्लेख गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै मेयर राईले १८ वर्ष माथिका एक लाख नागरिकलाई उपमहानगरपालिकाको आफ्नै श्रोतबाट खोप लगाउने योजना बनाएको पत्रमा उल्लेख गरिएको छ । उक्त एक लाख नागरिकको पहिलो र दोश्रो मात्राको खोप लगाउनको लागि दुईलाख डोज खोप धरानमा आवश्यक पर्ने भएको भन्दै मेयर राईले स्वीकृति प्रदान गर्न माग गर्नु भएको छ ।
धरानमा रहेका सरकारी कर्मचारी तथा जेष्ठ नागरिकले भने प्राय खोप लगाइसकेका छन् ।
धरानमा कोरोनाको दोश्रो भेरियन्ट आए यता १६८६ जनामा संक्रमण देखिएको छ । हाल सक्रिय सङक्रमितको संख्या ५७० रहेको छ भने ३८ जनाले ज्यान गुमाईसकेको उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिनु भयो ।

Bigyapti