धरान / हतियारधारी युवाहरुको एक समुहले धरानस्थित अस्थायी प्रहरी चौकीका प्रहरी माथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इञ्चार्ज असई सुमन दाहाल घाइते हुनु भएको छ ।
स्थानीयका अनुसार धरान–३ का प्रसान लिम्बु  भन्ने एक युवा र एक युवती फोनमा धम्की दिएको विषयमा जाहेरी दिन आएका थिए । तत्कालै केही युवाहरु आएर ती लिम्बु माथि आक्रमण गर्न थालेका थिए । हतियार आधा दर्जन बढी युवाहरुको समुहले एक्कासी चौकीमा प्रवेश गरि जाहेरी दिन आएका युवालाई आक्रमण गर्न थाले पछि प्रहरीले उनलाई जोगाएको थियो । उनलाई जोगाउदा दाहाल र अर्का प्रहरी हवाल्दार विजय यादवघाइते हुनु भएको छ । आक्रमणकारीले खुकुरी प्रहार गर्दा समात्न खोज्दा असई दाहालको वाया हातमा चोट लागेको हवाल्दार यादवले जानकारी दिनु भयो । यादवको सामान्य चोट लागेको छ । घाइते दाहालको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उहाँकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ । 
वडा नं १५ को वडा कार्यालय सामुन्ने रहेको चौकी भित्रै आज साँझ साढे सात बजे आक्रमण भएको १५ नं. वडाका वडाध्यक्ष नरेशकुमार इवारमले जानकारी दिनु भयो । आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त चौकीमा असईको नेतृत्वमा ४ जना प्रहरी कार्यरत थिए ।
प्रसानलाई इलाका प्रहरी कार्यालय धरानले घटनाबारे जानकारी लिइरहेको छ । उनलाई फोनमा धम्की दिने व्यक्तिहरुले नै आक्रमण गरेको बताइएको छ ।