धरान / समाचारको विषयमा पत्रकार रत्न आचार्यलाई नेपालीकांग्रेस निकट केही मातृ संगठनहरुले अपमानजनक शब्द प्रयोग गरी निकालिएको विज्ञप्तिको नेपाल पत्रकार महासङ्घ सुनसरी तथा अन्य पेसागत संगठनहरुले आपत्ति जनाएका छन् ।
पत्रकारलाई कारबाहीको धम्की दिनु र सामाजिक बहिस्कार नै गर्ने भन्ने धम्की पूर्ण भाषामा जारी गरिएका विज्ञप्ति प्रेस स्वतन्त्रता विरोधी काम भएको भन्दै उनीहरुले आपति जनाएका हुन् ।
आचार्यले सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ताु शीर्षकमा अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित गर्नु भएको थियो । सो समाचारमा नेपाली काँग्रेस धरानका किशोर राइलगायतका नगर नेताहरुको जलाधार क्षेत्रलाई निजीकरण गर्न मिलेमतो गरेको भन्ने समाचार प्रकासित भएको थियो ।
सोही समाचारको विषयलाई लिएर आचार्यलाई नेपाली काङ्ग्रेसका विभिन्न भातृ सङ्गठन र धरान फुटबल क्लबले प्रेस विज्ञप्ति जारी गरि धम्कीपूर्ण भाषामा गालीगलौज गरिएको थियो ।
समाचार लेख्ने पत्रकारलाई नाङ्गेझार बनाउने, अपमान गर्ने, सामाजिक बहिस्कार गर्नेजस्ता चेतावनी दिएका थिए । सोही अभिव्यक्तिप्रति नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला सचिव ध्रुव ढकालद्वारा जारी विज्ञप्तिमा पत्रकार आचार्यलाई दिएको सो अभिव्यक्तिप्रति महासङ्घले भर्त्सना गरेको छ ।
त्यसका साथै धम्की दिनेहरू लाई कानुनी दायरमा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराइएको छ । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा व्यवहारिक रूपमा प्रतिबद्ध बन्न र नागरिकको सुसूचित हुन पाउने अधिकारको सम्मान गर्न सम्बन्धित सवैमा महासङ्घले अपिल गरेको छ ।
समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसको कानुनी बाटो हुँदाहुँदै अन्य बाटो खोजिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै प्रेस चौतारी नेपाल सुनसरीले पनि उत्त घटनाको भत्सर्ना गरेको छ ।
आफ्नो नेतालाई गलत आरोप लगाएको भन्दै नेपाल दलित सङ्घ धरान उपमहानगर कमिटी, नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति सुनसरी, नेपाल विद्यार्थी सङ्घ क्षेत्र नं १ सुनसरी, नेपाल विद्यार्थी सङ्घ महेन्द्र बहुमुखी क्याम्पस धरान, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, नेपाल विद्यार्थी सङ्घ पिण्डेश्वर र नेपाल विद्यार्थी सङ्घ पूर्वाञ्चल इन्जिनियरिङ कलेज र धरान फुटबल क्लबले एउटै भाषाको विज्ञप्ति निकालेका थिए । उक्त विज्ञप्ति सामाजिक सञ्जालमा बुष्टसमेत गर्ने काम भएको बताइएको छ ।