इटहरी / इटहरीमा निजी क्षेत्रको अगुवाइमा अक्सिजन सहितको ८० शैयाको आइसोलेसन आजबाट संचालनमा आएको छ । उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकलाल चौधरीले आइशोलेशन उद्घाटन गर्नुृ भएको छ ।
इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईंमा अक्सिजनसहितको आइसोलेसन एक साता अघि नै तयार गरिए पनि आजबाट सञ्चालनमा आएको हो । नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समिति इटहरीले आइसोलसन संचालनमा साथ दिएका छन् ।
नीजी क्षेत्रको पहलमा सञ्चालन भएको सुबिधा सम्पन्न आइसोलेसन ले इटहरी नगरबासीलाई ठुलो राहत मिल्ने नगरप्रमुख चौधरीले बताउनुभयो । उहाँले नीजी क्षेत्रको यो पहल उदाहरणीय भएको भन्दै प्रशंशा समेत गर्नुभयो ।
आइसोलेसन प्राविधिक रुपमा डाक्टर र नर्स सहितको सुविधा रहेको छ । पछिल्लो समय सुनसरी सहित आसपासका क्षेत्रमा कोरोना भाइरस संक्रमण तिब्र भएपछि स्थिति नियन्त्रण बाहिर जान नदिनका निजी क्षेत्रको अगुवाइमा आइसोलेसन तयार गरिएको मारवाडी सेवा समिति इटहरीका अध्यक्ष मुकेश अग्रवालले बताउनुभयो ।
स्थानीय तहले निर्माण गरेका कतिपय आइसोलेसनमा बिरामी बस्न नमानेको गुनासो बढिरहेको बेला संचालन भएको सुबिधा सम्पन्न यो आइसोलेसनमा संक्रमितलाई खाना र बस्न निःशुल्क रहेको छ । यसका साथै बिभिन्न खेलकुदका सामाग्री, बिभिन्न पुस्तक, उच्च गतिको इन्टरनेट र टेलिभजनको सुबिधा समेत रहेको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो । आइसोलेसनमा निशुल्क एम्बुलेन्स सेवाका साथै नोबेल अस्पताल संगको सहकार्यमा ७ सय ५० रुपैयामा पिसिआर जांच गर्ने सुबिधा पनि रहेको अधिकारीले बताउनु भयो ।
इटहरी उपमहानगरपालिकाले पनि इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन तयार गरेको छ ।