धरान । धरान उपमहानगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नका लागि एक समिति गठन गरिएको छ ।

बिहीबार धरान उपमहानगरका प्रमुख तिलक राईको अध्यक्षतामा बसेको सर्वदलीय छलफलले धरान १५ का वडाध्यक्ष नरेश ईवारमको संयोजत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । छलफलमा नगर प्रमुख राईले कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न वैकल्पिक स्थानको टुंगो नलागेसम्म स्वास्थ्य प्रोटोकल अपनाएर खत्रीधारामै दाहसंस्कार गर्न दिन स्थानीयबासीलाई आग्रह गनुभएको थियो । नगर प्रमुख राईका अनुसार शव व्यवस्थापन गर्दा १० देखि १५ जनासम्म मात्र स्वास्थ्य मापदण्ड अपनाएर मलामी जान पाउने छन् ।

स्थानीयबासीहरुको मागलाई समेत ध्यानमा राखेर वैकल्पिक स्थानको खोजी गर्ने र सो स्थानको खोजी गर्न धरान १५ का वडाध्यक्षको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको सामाजिक शाखा अधिकृत गणेश खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यमा सबै राजनितिक दलको तर्फबाट एक जना प्रतिनिधि, बाँझगरा सामुदायिक वनका अध्यक्ष, बालकृषि सामुदायिक वनका एक जना प्रतिनिधि, शिवगंगा र निराजनबस्ती (टिएलओ) प्रतिनिधि र धरान उपमहानगर वातावरण शाखा प्रमुख भेषराज घिमिरे सदस्य सचिव रहने छन् । उक्त समितिले चाँडै वैकल्पिक ठाउँको खोजी गरि पेश गर्ने र वैकल्पिक ठाउँको व्यवस्था नभएसम्म स्वास्थ्यका सम्पूर्ण प्रोटोकलहरु पुरागरी स्थानीयको मागलाई समेत ध्यानमा राखेर दाहसंस्कार गर्ने व्यवस्था मिलाउने खतिवडाले बताउनुभयो । साथै हरेक कोरोना संक्रमितको दाहसंस्कार गर्दा टिएलओ को प्रतिनिधि र जनप्रतिनिधिलाई जानकारी गराउने समेत सहमति उहाँको भनाई छ ।

यस्तै झिङ्गु दाहसंस्कार स्थल (खत्रीधारा दाहसंस्कार स्थल) व्यवस्थापन समितिमा स्थानीयबासीहरुको पनि प्रतिनिधि रहने सामाजिक शाखा अधिकृत गणेश खतिवडाले जानकारी दिनुभयो ।
झिङ्गु दाहसंस्कार स्थल खत्रीधारामा कोरोना सङ्क्रमितको शव जलाउन स्थानीयले अवरोध गरे पछि बैकल्पिक स्थल खोज्न समिति बनेको हो । यस अघि तीन वटा शव जलाउन नदिएर अन्यत्र लगिएको थियो ।