धरान । कोभिड–१९ को महामारीका बेला सञ्चारकर्मीको स्वास्थ्य सुरक्षा तथा सूचना संकलनमा सहयोग पु¥याउन केपी ओली निकट प्रेस चौतारी नेपाल सुनसरीले स्थानीय तह रने पत्रकार महासंघ सुनसरीकोे ध्यानाकर्षण गराएको छ ।
प्रेस चौतारी नेपाल सुनसरी जिल्ला कार्य समितिले मंगलबार जिल्लाका १२ वटै स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउदै पत्रकारलाई फिल्डमा काम गर्नकालागी स्वास्थ्य सुरक्षा तथा सूचना संकलनमा सहयोग पु¥याउन आग्रह गरेको छ ।
स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै फेलोसिप कार्यक्रम ल्याउन, स्थानीय मिडियालाई समानुपातिक रुपमा विज्ञापन उपलब्ध गराउन, रिपोर्टिङ गर्न फिल्डमा खटिने सञ्चारकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन साथै समन्वय गर्न आग्रह गरेको छ ।

जिल्लाका धरान, इटहरी, बराहक्षेत्र, इनरुवा लगायतका स्थानिय तहका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाइएको प्रेस चौतारी सुनसरीका अध्यक्ष शेखर ढकालले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझ्दै धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रेस चौतारीले ध्यानाकर्षण गराएको विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । मेयर राईले भन्नुभयो –‘चौतारीले राखेको माग प्रति सकारात्मक हुँदै तत्काल हामी छलफल गरेर स्वास्थ्य सामाग्री उपलब्ध गराउने, फेलोसिकालागी पत्रकार महासंघसँग समन्वय गर्ने तथा समानुपातिक विज्ञापनका विषयमा के गर्न सकिन्छ छलफल गरेर गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
यस्तै नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईलाई पनि ध्यानकर्षण पत्र बुझाउदै संकटको समयमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
महामारीको समयमा पत्रकारहरुलाई घरबाटै काम गर्ने वातावरण बनाउन भूमिका खेल्न, पारिश्रमिक नपाएका पत्रकार तथा सञ्चार गृहबाट निकालिएका पत्रकारहरुलाई आवश्यक सहयोग गर्न र संकटको समयमा तत्काल प्रभावकारी कदम चाल्न महासंघको ध्यानाकर्षण गराएको छ ।
ध्यानाकर्षण पत्र बुझदै पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईले जिल्लाका सञ्चार संस्था र सञ्चारकर्मीको अभिलेख राख्ने काम गरिरहेको भन्दै तत् पश्चात कार्यक्रम ल्याउने बताउनु भयो ।