धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विरामीको चाप बढेर गएको छ । आइतबार विहानको तथ्याङ्क अनुसार बिपी प्रतिष्ठानमा ११४ जना विरामी भर्ना भएका छन् । यो तथ्याङ्क बैशाख ८ गते यताको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार प्रतिष्ठानबाट हालसम्म कोरोना जितेर (पूर्ण रुपमा निका भएर) १२ जना घर फर्केका छन् । ६१ जना कोभिड अस्पतालमा उपचाररर्थ रहेका छन् । हालसम्म १८ जनाको ज्यान गएको सह प्रवक्ता पोखरेलले जानकारी दिनु भयो ।
एक सय बेड क्षमता भएको प्रतिष्ठानमा निको भएर घर फर्कनेहरुको सङ्ख्या पनि बढेर गएको छ । १० पूर्ण रुपमा निका भएर घर फर्केका छन् । २३ जना आइसियु र अक्सिजन बेडबाट जेनेरल बेडमा स्थानान्तर भई होम आइसोलेसनमा बस्ने गरि घर फर्केको सहप्रवक्ता पोखरेलले बताउनु भयो ।
‘अस्पतालले कोरोना नेगेटिम भएर फर्केकालाई मात्र निको भएको मान्ने गरेको छ । तर आइसियुमा बस्ने र अक्सिजन बेडमा बसेर सामान्य भएर घर फर्कनेको सङ्ख्या बढेको छ ।’–डा. पोखरेलले भन्नु भयो–‘हाम्रो क्षमताले भ्याएसम्म सङ्क्रमितलाई सेवा दिइ रहेका छौं । हालसम्म कुनै सङ्क्रमितलाई फर्काउनु परेको छैन् ।’
तर सङ्क्रमितको सङ्ख्या बढ्दैं जाँदा पछि भने समस्या हुने उहाँको भनाई छ । सङ्क्रमित प्रतिष्ठान ल्याउदा अस्पतालसँग समन्वय गरेरमात्र ल्याउन उहाँले आग्रहसमेत गर्नु भएको छ । त्यसका लागि डा. इन्द्र लिम्बु र डा.विकास साहलाई फोकल परसनको रुपमा अस्पतालले तोकेको उहाँले जानकारी दिनु भयो । समन्वय नगरि सङ्क्रमित ल्याउन कतिपयलाई आइसियु वेड वा अक्सिजन चाहिने हुन सक्छ यहाँ खाली नहुन सक्छ । त्यस्तो बेलामा जटिलमा उत्पन्न हुने भएकाले उहाँहरुसँग समन्वय गरेर मात्र सङ्क्रमित प्रतिष्ठान ल्याउन प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले जानकारी दिनु भयो ।
बैशाख २५ सम्म प्रतिष्ठानको कोभिड अस्पतालमा एक हजार ३३८ जना भर्ना भएका थिए । नौ सय ९९ जना पूर्ण निको भएर घर फर्केका थिए भने एक सय ३९ जनाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको ल्यावमा ८० हजार ३३२ जनाको पिसिआर टेष्ट गरिएको छ । आठ हजार ५२६ जनाको कोरोना पोजेटिभ रिर्पोट आएको प्रतिष्ठानको तथ्याङ्कमा उल्लेख छ । प्रतिष्ठानमा प्रदेश १ र २ का केही जिल्लाबाट पिसिआर टेष्टका लागि साम्पल आउने गरेको छ ।
प्रतिष्ठानले विशेषज्ञ चिकित्सक, कन्सल्ट्यान्टसहितको चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी कोभिड अस्पतालमा खटाएको छ । दुई सिफ्ट बनाए २५ जनाको दरले जनशक्ति खटाइएको निर्देशक साहले जानकारी दिनुभयो ।
कोभिड अस्पताललाई व्यवस्थित बनाउन सरोकारवालासँग छलफल
केही दिन अघि कोभिड अस्पताललाई व्यवस्थित बनाउन स्थानीय तह प्रमुख, राजनीतिक दलहरुका प्रतिनीधि, नेपाली सेना, नेपाल प्रहरी र प्रतिष्ठान पदाधिकारीविच छलफल भएको थियो । शव समयमा नउठ्ने गुनासो आए पछि कसरी समयमा शव व्यवस्थापन तथा यहाँ आउने सङ्क्रमितको व्यवस्थापन, उपचारमा कसरी सहजता गर्ने भन्ने विषयमा सुझाव सङ्कलन गरिएको असपताल निर्देशक साहले जानकारी दिनु भयो ।
संक्रमितका आफन्तका लागि कुरुवा घर निर्माण
प्रतिष्ठान हाताभित्र रहेको कोभिड अस्पतालमा विरामीको आफन्तलाई सजिलोको लागि अस्थायी कुरुवा घर निर्माण गरिदैं छ ।
शुक्रबार धरान उपमहानगरपालिकाको मेयर तिलक राईको अगुवाईमा कोभिड अस्पतालमा रहेका विरामीको आफन्तका लागि कुरुवा घर निर्माण शुरु गरिएको हो । कोभिड अस्पतालमा विरामी कुरुवा घर नभएको कारण विरामीको आफन्तलाई व्यापक रुपमा समस्या भएको जनगुनासो आएपछि कोभिड अस्पताल पछाडि रहेको खाली जग्गामा अस्थायी ट्रष्टको कुरुवा निर्माण गरिएको हो ।
मारवाडी सेवा समिति र नेपाल अग्रवालको सहकार्यमा कुरुवा घर निर्माण गरिएको हो । अस्थायी विरामी कुरुवा घर १८ फिट चौडाई र ८० फिट लम्बाईको हल, शौचालय र स्नान कोठासहितको सुविधा सम्पन्न रहने प्रतिष्ठानले जनाएको छ ।