धरान / सुनसरीमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दैं गए पछि जिल्ला प्रशासन कार्यालय सुनसरीले आज मध्यरातीदेखि जिल्लाभर बन्दाबन्दी(लकडाउन)को आदेश जारी गरेको छ ।
जिल्लाको सुरक्षा समितिको मङ्गलबार बसेको बैठकले आज राती (बैशाख २१ गते) १२ बजेदेखि बैशाख ३१ गते मध्यराती १२ बजेसम्मको लागि रुपमा अत्यावश्यक सेवा बाहेका सबै सेवा बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनु भयो ।
सङ्क्रामण ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरेको अधिकार प्रयोग गरि यस्तो निर्णय गरिएको हो ।
उहाँका अनुसार यो अवधिमा औषधी, खाद्यबस्तु तथा अत्यावश्यक बस्तु वा सेवा खरिदबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन रोक लगाइएको छ । अत्यावश्यक सेवाहरुबाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु पनि आजै रातीदेखि बैशाख ३१ गते रातीसम्म जिल्लाभर पुर्णरुपमा रोक लगाइएको उहाँले जानकारी दिनु भयो ।
यस्तै, खाद्यबस्तु, खाना पकाउने ग्याँस, तरकारी फलफुल, दुध डेरी, निर्माण सामग्री, डेपाटमेन्ट स्टोर ग्रोसरीहरुलगायत अत्यावश्यक पसल व्यवसायहरु बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने निर्णय भएको सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले जानकारी दिनु भयो । बैशाख २४ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।
प्रशासनले भारतसँग जोडिएका सबै नाका पूर्ण रुपमा बन्द गरि आउजाउ बन्द गरेको छ । सिमानामा बाक्लो रुपमा सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ ढकालले जानकारी दिनु भयो ।
सुनसरीमा सोमबारसम्म २३३ महिलासहित ५९८ जना सङ्क्रमित भएका छन् । १३ जनाको मृत्यु भइसकेको जिल्ला जन स्वास्थ्य कार्यालयले जनाएको छ ।



















