भारत / भारतको राजधानी दिल्लीका स्थानीय अधिकारीहरूलाई शवदाह गर्न सकिने थप नयाँ स्थान पहिचान गर्न त्यहाँको प्रहरीले आग्रह गरेको छ।

भयानक रूपमा देखा परेको दोस्रो लहरबाट भारतको कैयौँ भाग प्रभावित भएको छ। यसले अस्पताल, शव गृह र शवदाह स्थलहरूमा ठूलो चाप परेको छ। बिहीवार कुल कोभिड बिरामी भएको सङ्ख्या एक करोड ८० लाख नाघेको छ।

बिहीवार मात्रै थप तीन लाख ८६ हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो सङ्ख्या संसारकै एउटा मुलुकमा एकदिनमा सङ्क्रमण भएको सबभन्दा बढी सङ्ख्या हो। बिहीवार दिल्लीमा मात्रै ३९० जनाभन्दा बढीको ज्यान गएको थियो। यो महामारी शुरू भएयताकै सर्वाधिक मृत्यु सङ्ख्या हो।

ूशहरको मृत्यु सङ्ख्या मुख्यत कोभिडसँग सम्बन्धित छ र स्थान अभावका कारण मानिसहरूले आफ्ना प्रियजनहरूलाई कोभिड पीडितका लागि बनाइएकाभन्दा अन्यत्र नै शवदाह गर्नु परिरहेको छ, एनडीटीभी न्यूज च्यानललाई एकजना वरिष्ठ प्रहरी अधिकारीले बताउनु भयो ।

ूत्यसै कारणले हामीले सरकारलाई थप शवदाह स्थल पहिचान गर्न भनेका हौँ । दिल्लीमा अस्पतालहरूले बिरामीका आफन्तलाई सामान र अक्सिजनको जोहो गर्न आग्रह गरिरहेका छन्। भारतमा अक्सिजन, औषधि र अस्पतालका शय्याको अभाव भइरहेको छ। मानिसहरू आफ्ना प्रियजनका लागि त्यस्ता अत्यावश्यक वस्तुका लागि सामाजिक सञ्जालमा याचना गरिरहेका छन्।

भारतको केन्द्रीय सरकारले महामारी मच्चिएका बेला चुनावी र धार्मिक कार्यक्रम जारी राख्न दिएको भन्दै व्यापक आलोचना खेपिरहेको छ।

तर स्वास्थ्यमन्त्रीले बिहीवार सरकारको बचाउ गर्दै भारतमा मृत्युदर संसारकै न्यूनतम रहेको र अक्सिजन उपलब्धता ुपर्याप्त रहेको बताएका छन्। मन्त्री हर्ष वर्धनले एएनआई समाचार एजेन्सीलाई अब अक्सिजन ुधेरै स्रोतहरूबाट उपलब्ध गराइएको, विदेशबाट पनि ल्याइएको र तिनको भण्डारणस्थल निर्माण भइरहेको बताउनु भएको थियो ।

विज्ञहरू लकडाउन लगाउनु र खोप लगाउनु मात्रै समाधान गर्ने उपाय भएको बताइरहेका छन्। शनिवारदेखि भारतमा १८ वर्ष माथिका सबैले खोप लगाउन पाउने व्यवस्था गरिएको छ।

संसारकै सबभन्दा ठूलो मात्रामा खोप उत्पादन गर्ने मुलुक भए पनि भारतसँग खोप लगाउन मिल्ने उमेर समूहका करिब ८० करोड मानिसका लागि आवश्यक मात्रा उपलब्ध छैन। कैयौँ राज्यहरूले खोपको अभाव भएको बताइरहेका छन्। दुई करोड जनसङ्ख्या भएको भारतको आर्थिक राजधानी मुम्बईमा खोप भण्डारण कम हुँदै गएकाले तीन दिनका लागि उसको खोप कार्यक्रम स्थगित गरेको त्यहाँको सरकारी निकायले विज्ञप्ति मार्फत जनाएको छ।

मुम्बईका लागि महानगरीय आयुक्त अश्विनी भिडेले ट्विटरमा जनाए अनुसार अहिले भण्डारमा रहेको खोप ४५ वर्ष माथिका लागि छुट्टाइएको छ।

भारतबाट फर्कने अस्ट्रेलियाली नागरिकलाई जेल वा जरिवाना हुन सक्ने
भारतको यात्रालाई हालका लागि गैरकानुनी बनाएको अस्ट्रेलियाली सरकारले त्यहाँबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेलसजाय दिन सकिने बताएको छ।

भारतमा कोरोनाभाइरस सङ्क्रमित भई क्वारन्टीनमा बसिरहेका अस्ट्रेलियाका नागरिकहरूको सङ्ख्याका आधारमा पछिल्लो निर्णय लिइएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ। यसै साताको शुरूतिर अस्ट्रेलियाबाट भारतबाट हुने सबै उडानहरूमाथि प्रतिबन्ध लगाएको थियो। भारतमा हाल अनुमानित नौ हजार अस्ट्रेलियाली नागरिक रहेको र तीमध्ये ६०० जनालाई जोखिम समूहमा राखिएको छ।

सरकारी चेतावनी
भारतबाट फर्किरहेका अस्ट्रेलियाका नागरिकको सङ्ख्यासँग सरकारको कदम असुहाउँदो भएको एक चिकित्सकले अस्ट्रेलियाको टेलिभिजनलाई भन्नु भयो ।

‘हाम्रा परिवारहरू भारतमा मरिरहेका छन् । त्यहाँबाट निस्कनुको विकल्प नै छैन । यो सरकारी कदम त उनीहरूलाई परित्याग गर्न बनाएको जस्तो छ ।‘– जीपी तथा स्वास्थ्य टिप्पणीकार व्योम शार्मरले भन्नु भयो । सोमवारबाट लागु हुने गरी अस्ट्रेलिया पुग्नु १४ दिन अघि भारतमा रहेको भए त्यस्ता मानिसहरूलाई स्वदेश फर्कन प्रतिबन्ध लगाइएको छ।

त्यसको उल्लङ्घन गर्नेहरूलाई पाँच वर्षसम्म जेल सजाय वा ६६ हजार अस्ट्रेलियाली डलर जरिवाना अथवा दुवै सजाय हुन सक्छ। ूसरकारले यी निर्णयहरू हल्का ढङ्गले लिएको होइन,ू स्वास्थ्यमन्त्री ग्रेग हन्टले वक्तव्यमा भनेका छन्। बीबीसी