धरान । धरानमा खानेपानीको दिन दिनै अभाव बढ्दैं गए पछि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले खानेपानी व्यवस्थापनमा चासो राख्नु भएको छ । सहज तथा उत्पादन बढाउनका लागि खानेपानीको मुख्य स्रोत सर्दु र खर्दुको मुहान क्षेत्र आइतबार निरिक्षण गर्नु भएको छ । मर्मत गरिने भएको छ ।

मुहान आसपासका क्षेत्रमा चुहावट बन्द गर्नका लागि मर्मत गर्न लागिएको खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर राईले जानकारी दिनु भयो ।

धरान खानेपानी व्यवस्थापन बोर्डका ईञ्जिनियर प्रशान्त अधिकारीले नगर प्रमुख तिलक राईको नेतृत्वमा सर्दु र खर्दुको मुहानहरु मर्मत गर्नका लागि निरिक्षण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार र आइतबार निरिक्षण गरिएको हो । ‘यो धरानको मुख्य खानेपानीको स्रोत सर्दु र खर्दु पनि हो । सर्दु र खर्दुको मुहानहरु मर्मत गर्नका लागि हिजो पनि नगर प्रमुख ज्यूको नेतृत्वमा आपगाँछीदेखि निरिक्षण गर्यौ । खर्दुमा गर्नुपर्ने काम स्लोप प्रोटेक्सन वर्कस छ, त्यसलाई चाँहि अब सुचना निकालेर आरसिसि वाल लगाउँछौ, खर्दुको पानी चाँहि आपगाछी हुँदै आउँछ,’ उहाँले भन्नुभयो । खर्दुको मुहान आसपास क्षेत्रमा अनावश्यक मानिसहरु प्रवेश गर्ने भएका कारण फोहोर हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो पनि हामी बन्द गर्छौ ।’

धरान १३ स्थित विपि पार्कदेखि माथि जलाधार क्षेत्र रहेको छ । उक्त स्थानमा खानेपानीको मुहान छ । इञ्जिनियर अधिकारीले खानेपानीको मुहान अति संवेदनशिल भएको कारण मानिसको चहलपहल बढेको हुनाले उक्त क्षेत्रमा जान रोक लगाउने बताउनुभयो ।
खर्दुमा पहिरोका कारण खानेपानीको पाइप नै बगाएर लग्ने स्थिति रहेको छ । ‘खर्दुमा मर्मत भनेको चाँहि स्लोप प्रोटेक्सन हो, पहिरोको कारण खानेपानीको पाइप नै बगाएर लग्ने स्थिति छ, त्यसलाई चाँहि हामी वाल बनाएर पहिरो पनि रोक्छौ,’ उहाँले भन्नुभयो । सर्दुको मुहान लामपाते झरना नजिकै च्याम्बर निर्माण गरिने भएको छ । ‘लामपाते निर झरना छ, त्यहाँ एउटा च्याम्बर बनाएर, पाइप राखेर तल इन्टेकसम्म लिएर आउँछौ, बिचबिचमा ग्याबिनहरुको काम पनि गर्छौ, त्यो भएपछि पानीको उत्पादनमा चाँहि धेरै पानी ट्याप गर्न सक्र्छौ,’ उहाँले भन्नुभयो । हिउँदको बेलामा पनि वर्षाको बेलामा पनि खानेपानी ट्याप गर्न सकिने अधिकारीको भनाई छ ।

सर्दुको फोहोर व्यवस्थापन तथा मर्मत कार्य एक महिनाभित्रमा सकिने भएको छ । खर्दुको विषयमा सुचना निकालेर टेण्डर प्रक्रिया अगाडी बढाउने बताउँदै ईञ्जिनियर अधिकारीले सकेसम्म काम चाडै सुचारु गर्ने जानकारी दिनुभयो ।
खनेपानीको चुहावट र उचित व्यवस्थापनको अभावमा धरानमा यस बेला खानेपानीको हाहाकार छ । एक सातासम्म पनि धारामा पानी नआए पछि स्थानीयवासी मेयर उपमेयर तथा वडाध्यक्षहरुको घर घेराउ गर्न जान थालेका छन् ।