धरान / कोशी राजमार्ग अन्तर्गत विराटनगर–धरान सडक खण्डमा ट्रिपरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
आइतबार दिउँसो प्रदेश १–०२–००१ ख ८६६५ नम्बरको ट्रिपरले इटहरी १ का ७२ बर्षीय कर्णबहादुर गुरुङलाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट वृद्ध गुरुङको घटनास्थलमा नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता एवं डिएसपी सुमन तिम्सिनाले जानकारी दिनु भयो । कोशी राजमार्गको इटहरी खण्डको आर्दश मार्ग गेट छेउमा धरानतर्फ आइरहेको ट्रिपर सडक साइडमा रोकी राखेको बेला पछाडी सार्ने क्रममा गुरुङलाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।
वृद्धलाई ठक्कर दिने ट्रिपर चालक इटहरी १९ का २९ बर्षीय अनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि आक्रोशित स्थानीयबासीहरुले सडक जाम गरेका छन् । स्थानीयवासीले सडक अवरुद्ध गरे पछि प्रहरीले बैकल्पीक बाटोबाट यातायात सुचारुगरेको थियो । सवारीसाधनहरुलाई डाइभर्सन गरेर आवागमन सुचारु गरिरहेको डिएसपी तिम्सिनाले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापा घट्नास्थल पुग्नु भएको छ । साँझ ६ बजेसम्म सडक अवरुद्ध जारी रहेको थियो । गाडी व्याक गरेर मारेको भन्दैं स्थानीय आक्रोसित भएका हुन । प्रहरीले टिपरको ठक्करबाट मृत्युभएको भन्ने मुचुल्का उठाए पछि स्थानीयले व्याक गरेर मारेको भन्नेबनाउन दवाव दिएका थिए । उक्त मुचुल्का प्रहरीले सच्चाउने भए पछि स्थानीयले अवरोध हटाउने सहमति भएको डिएसपी तिम्सिनाले जानकारी दिनु भयो ।
समाजसेवी ८१ वर्षीय गुरुङ तेह्रथम फुल्लेक निवासी हुनु हुन्थ्यो । भारतीय भूपूशैनिकसमेत रहेका गुरुङ जनता मावि चम्फुलाको पांचपटक सम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहनु भएकोथियो । साविक फुल्लेक गाविसको नेपाली कांग्रेसको तीनचोटी सभापति हुनु भएको लालीगुँरास नगरपालिकाका मेयर अर्जुन मावुहाङले जानकारी दिनु भयो । हाल उहाँ नेपाली कांग्रेस लालिगुरांस नगर समितिको उप सभापति हुनुहुन्थ्यो । उहाँ अस्वस्थ्यताका कारण आदर्शटोल गंगामार्गमा बस्दै आएको थियो ।