दुई महाशक्ति देशहरुको बीचमा स्वतन्त्र राष्ट्रको रुपमा रहेको नेपाल जति गौरवान्वित छ, उन्नति, प्रगति तथा मौलिक हक प्रयोग गर्नमा कमजोर पराभिमुख संस्कार बनाएको छ । राष्ट्रिय स्वतन्त्रताको जतिसुकै गुणगान गरेपनि राजनीतिकर्मीहरुको गुलामी संस्कारबाट देश पीडित छ । शक्तिकेन्द्रहरुको चाकडी गरी व्यक्तिगत तथा राजनीतिक लाभ लिन इमान्दारी, स्वाभिमान बेचेर भएपनि राजनीतिमा आफ्नो सर्वोच्चता कायम राख्न पछि परेको छैन ।
दुई चारवटा विश्वविद्यालय दुई चारवटा सडक निर्माण तथा केही अस्पतालको निर्माण देखाएर देशको विकास देखाउने यहाँका राजनीतिकर्मीहरु देशको चरम व्यापार घाटा, परनिर्भरताको डरलाग्दो ग्राफ तथा उत्पादनको क्षेत्रमा शून्य तथ्यांकबाट किञ्चित लाज मान्दैन । ५० लाख युवाहरु विदेश पलायन भएर यहाँ जेनरेशन ग्याप भएको शर्मनाक अवस्थामा पनि हाम्रा युवाहरु बजेट बराबरको रेमिट्यान्स पठाइ रहेको भनेर गौरवान्वित हुन्छन् । आत्मनिर्भर हुने योजनामा सो रकमको उपयोगिताबारे केही ज्ञान नरहेको तर भ्रष्टाचार गर्न र गराउन सबै योग्य छन् ।
दुई पार्टी (नेपाली कांग्रेस र नेकपा) को मात्र राजनीतिमा वर्चस्व कायम रहेको अवस्थामा ७० वर्ष बित्दा पनि नेपालमा कुन शासन प्रणाली राख्ने भन्ने ठोस निर्णय गर्न नसक्दा देशको राजनीतिक प्रणाली स्थिर हुन सकेको छैन । राज्य सुविधाबाट वञ्चित जनताहरु अधिकारका लागि अनेकौं लडाइँ लडेपनि यी दुई पार्टी (नेपाली कांग्रेस र नेकपा) ले देशको राजनीतिलाई स्थिर हुन दिएन र सधैं द्वन्द्वको घेरामा राजनीतिलाई राखेर व्यक्तिगत तथा दलीय स्वार्थ पूरा गर्न व्यस्त रहे । देश र जनताप्रतिको दायित्वलाई बिर्सेर स्वार्थान्धतालाई नै स्वीकारोक्ति अहिले पनि त्यहीं भएको छ ।
भारतको विरुद्ध चीनको अन्तरंग मित्र बनेर केपी शर्मा ओलीले राजनीतिमा लोकप्रियताको जुन उचाई प्राप्त ग¥यो, अहिले त्यहीं चीनलाई छोडेर भारतसँग सम्बन्ध सुधार्ने प्रयास गर्दैछ । चीनसँग भए भरका सहयोग प्राप्त गरेर नयाँ मित्र बनाउन भारततिर जानु कुनै अनौठो कुरा होइन । सम्बन्ध सुधार्नु कुनै अपराध होइन तर कुटनीतिक मैत्री सम्बन्धको सन्तुलन राख्न नसक्नु राजनीतिक अयोग्यता हो । भारतलाई चिनियाँकार्ड तथा चीनलाई भारतीयकार्ड देखाएर यहाँका राजनीतिकर्मीहरु व्यक्तिगत रुपमा धनवान बने, राजनीतिको शीर्ष तहमा विराजमान रहे तर देश र जनताको बारेमा कुनै चासो राखेन । दान, दातव्य आदिबाट देश विकास गर्ने परोपकारी सोच राजनीतिकर्मीमा देखिएन । दान दातव्यको असीमित रकम ०७४ सालको चुनावमा खोला सरि बगाएर आफ्नो आसेपासेका व्यक्तिलाई जिताएर ल्याउने रकमी चुनावी परिपार्टीको थालनी गराइयो । आफ्नो बहुमतको सरकार बनाउने केपी शर्मा ओली योजनाको अभावमा जनमुखी सोच नभएको अवस्थामा आधा कार्यकालमै लोकप्रियता गुमायो । सपार्नुभन्दा बिगार्नुमा बढी दिमाग चलाउने राजनीतिकर्मीहरुको चरित्र बनेको छ ।
शक्तिकेन्द्रको दलाली गर्ने चरित्र शासकवर्गले विरासतमा पाएको हो । दास मानसिकताले देश उन्नति गर्न सक्दैन भन्ने यथार्थको ज्ञान रहँदा पनि गुलामी चरित्रमा किञ्चित परिवर्तन देखिएन । जंगबहादुरले कम्पनी सरकारको गुलामी देश बचाउनका लागि गरेको थियो भन्ने कुरा सबैलाई थाहा छ । तर अहिलेका शासकवर्ग स्वार्थ पूरा गर्न शक्तिकेन्द्रका गुलाम बनेका छन् ।
नेपाल भारत सम्बन्ध प्राकृतिक रुपले बनेको छ । भूपरिवेष्ठित राष्ट्र नेपालको निकासद्वार भारत नै हो । सामाजिक, धार्मिक, सांस्कृतिक समानताको आधारमा दुवै देशबीच जोडिएको प्राकृतिक सम्बन्धलाई बिना कारण अपमानजनक भाषा प्रयोग गरेर, गालीगलौज, होच्याउने, धम्काउने आदि अनेक तवरले वैरभावको प्रदर्शन गरी केपी शर्मा ओलीले विगत ६ वर्षमा सम्बन्धलाई तनावपूर्ण बनाएर राख्यो । यस अवधिमा चीनसँग गहिरो मैत्री सम्बन्ध बनाई मनोवाञ्छित लाभ लिन पछि परेन । अहिले के कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत राम्रो लाग्न थालेको हो ।
भारत विरोधी भावना फैलाएर राष्ट्रवादको महल बनाउन सफल केपी शर्मा ओली पुनश्चः भारतसँगको गहिरो मैत्री सम्बन्धले राष्ट्रवादको भव्य महल धरासायी त हुने होइन ?
दाउ हान्ने खेलाडी सधैं जित्ने होइन । राजनीतिका बडे–बडे खेलाडीहरु धरासायी भएका छन् । ओली पनि हुन्छन् । अरु आउँछन् जान्छन् । तर देश र जनताको उन्नति, प्रगतिबारे सोच्ने व्यक्तित्व राजनीतिक क्षितिजमा देखिँदैन । जनता एउटाबाट ठोकर खाएर अरुतिर जाने परम्पराबाट बाहिर निकल्न सकिरहेको छैन ।
नेपालमा भारतप्रतिको घृणा तल्लो तहमा चरम अवस्थामा देखिन्छ । यति बिघ्न घृणा चीन, अमेरिका आदिप्रति देख्न पाइन्न । यसमा भारतको पनि सोचको केही त्रुटि होला तर यसलाई तनावको अवस्थामा लैजानु बुद्धिमानी होइन । चरम तनावमा रहेका नेपाल–भारत सम्बन्ध यति छिटो केपी शर्मा ओलीको पहलमा मैत्री सम्बन्धमा कसरी बद्लियो ? यति छिटो सम्बन्ध सुधार कसरी भयो ? के यो आत्म समर्पण त होइन ? राष्ट्रवादीहरु व्यापक रुपमा चर्चा गरिरहेका छन् । यही विधिबाट सम्बन्ध सुधार्ने हो भने स्वाभिमानको कुरा गर्न व्यर्थ हो । विगतको तल्लो स्तरको अपमानजनक कुटनीतिक व्यवहारले लत्रिन बाध्य पारेको हुन सक्छ । जे विधि भएपनि केपी ओलीले भारतसँग सम्बन्ध सुधार्न गरेको प्रयासलाई प्रशंसा गरिदिनु पर्छ ।
सन् २०१४–२० को अवधिमा चीनसँग कहिल्यै नरहेको गहिरो मैत्री सम्बन्ध र दर्जनौं दुई हितका सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नाकाबन्दीका बेला दैनिक उपभोग्य वस्तुको पहिलो खेप मार्गको अप्ठ्यारा पार गरेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएर भारतलाई चुनौती दिएको थियो । अहिले चीनसँग दूरी बढाएर भारत नजिक आएको ओली भोली कहाँ जाने ठेगान छैन ।
शक्तिकेन्द्रको गुलामी गरेर पाउने पारितोषिक देशहितमा लगाएको भए अहिलेसम्म परनिर्भरता निश्चय नै हटथ्यो होला । जनताको खुशहाली बढ्थ्यो होला । तर व्यक्तिगत स्वार्थका लागि गरेको गुलामहरुसँग न इमान्दारी हुन्छ, न चरित्र, न स्वाभिमान । त्यसपछि स्वाभिमानको बेसुरा नाराको कुनै अर्थ हुँदैन । (मधेश दर्पण)