सुनसरी । ईटहरी उप-महानगरपालिका-९ का २० बर्षीय फैजान आलम र ईनरुवा नगरपालिका-१० का ४१ बर्षीय जल्लाउदिन मियाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
 
पक्राउ परेका दुवै जनाले ईटहरी ८ का यज्ञ बिक्रम ठकुरीलाई आर्थिक प्रलोभन देखाई नक्कली सुनका सिक्काहरु दिई रकम ठगी गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा दुबै जना पक्राउ परेका हुन् ।
 
उनीहरुले ठकुरीलाई बिभिन्न प्रलोभन देखाई सक्कली सुन भनी नक्कली सुनको सिक्का दिई ठकुरीबाट ४ लाख नगद लगेको र सम्पर्क बिहिन भए संगै आफु ठगिएको बथाहा पाई ठकुरीले ईलाका प्रहरी कार्यालय ईटहरीमा जानकारी गराएका थिए ।
 
ठगी भएको सूचना पाए संगै ठगी गर्ने ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।