धरान / आज नेपालमा कोरोना त्रास बढे पछि लक डाउन शुरु भएको दिन । सरकारले गत बर्ष कोरोना त्रास बढे पछि चैत ११ गतेदेखि ३ महिना लामो लडकडाउन गरेको थियो । लकडाउनको एक बर्ष पुग्दैं गर्दा फेरी कोरोना त्रास बढेको छ । नेपालमा ५५ दिन यता संक्रमणको दर उच्च भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिए पछि नेपालमा पनि तनाव शुरु भएको छ । भारतमा महाराष्ट्र, गुजरात, राजस्थान, पन्जाब र केरलामा संक्रमण उच्च गतिमा बढेको छ । दिल्ली सरकारले होलीका कार्यक्रममा प्रतिबन्ध लगाएको छ भने राजस्थानमा रात्रिकालीन कफ्र्यु लागू गरिएको छ ।

भारतमा मंगलबार मात्रै ४७ हजार ३९ नयाँ संक्रमित भेटिएका छन् । यो साढे चार महिनायताकै उच्च हो । सोमबार यो संख्या ४० हजार र आइतबार ४७ हजार नौ थियो । यसरी पछिल्ला दिनमा कोरोना संक्रमण उच्च भएको छ । जब कि जनवरी, फेब्रुअरीमा यो संख्या १० हजारभन्दा तल झरेको थियो ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट दुई सय ७५ जनाको मृत्यु भएको छ । मृत्यु पनि तीन महिनाकै उच्च हो । सोमबार एक सय ९७ र आइतबार दुई सय १३ जनाको मृत्यु भएको थियो । मृतकको संख्या पनि विगत महिनामा सयभन्दा तल झरेको थियो ।

भारतमा मात्र नभई विश्वका अन्य देशमा पनि पछिल्लो सातादेखि कोरोना संक्रमण पुनः उकालो लागेको बताइएको छ । अमेरिकामा कोभिड भ्याक्सिनविरुद्ध तीनवटा खोप (फाइजर, मोडर्ना र जोनसोन एन्ड जोनसोन) खोप लगाउने क्रम जारी छ । कोभिडविरुद्धको खोपपछि संक्रमण नियन्त्रणमा आशा थियो ।

भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि नेपालका सिमानामा पर्ने जिल्ला उच्च जोखिममा परेका छन् ।

प्रदेश १ का सुनसरी, मोरङ र झापा संक्रमण असर उच्च छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्वास्थ्य मापदण्डलाई पुर्णरुपमा पालना गर्नुको विकल्प नभएको बताउँनुभएको छ । नेपाल भारत सिमा क्षेत्रबाट मानिसहरु आउजाउ गर्दा पनि स्वास्थ्य जाँचलगायतका सुरक्षा मापदण्ड पालना गर्न कडिकडाई गरिएको उहाँले जानकारी दिनुभयो । मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्न र भिडभाडमा नजान सबैलाई अनुरोध गरिएको प्रजिअ ढकालले जानकारी दिनु भयो ।

उहाँका अनुसार सिमा नाकामा कडाई गरिएको छ । बाहिरबाट आउनेलाई अव क्वारिन्टिनमा राखिने उहाँले जानकारी दिनु भयो ।