- सुमन पन्त
मकर संक्रान्ति भनिने माघे संक्रान्तिको वैज्ञानिक अर्थ छ । माघ एक गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने हुँदा माघे संक्रान्तिलाई मकर संक्रान्ति भनिन्छ । यस दिनदेखि सूर्य उत्तरतिर ढल्किँदै जाने र रात छोटो हुन थाल्छ । संक्रान्तिको अर्थ एक स्थानबाट अर्को स्थानमा सर्नु पनि हो ।
माघे संक्रान्तिलाई चिसो याम सकिएर गर्मीलाई स्वागत गर्ने भनेर पनि बुझ्ने गरिन्छ । महिनौंको चिसोबाट शरीरको अङ्गहरु थाकेका हुन्छन् । शरीरबाट चिसो घटाउन घिऊ, चाकु, तिल, तरुल, पालुङ्गो आदि उपभोग गर्न सकिने सांकेतिक प्रचलन हो यो । यी सामाग्रीहरु खानाले शरीरमा ताप पैदा गर्ने तथा विभिन्न पौष्टिकता प्रवाह हुने धर्मशास्त्रीय तथा वैज्ञानिक मान्यता छ ।
यस दिन शरीरमा तेल पनि मालिस गर्ने प्रचलन छ । शरीरमा गढेर बसेको चिसो फ्याँक्न तेल मालिसले आन्तरिक तापमान वृद्धि गर्न सघाउ पुग्दछ ।
डा. भोजराज द्वीवेदीद्वारा लिखित साइन्टिफिक बेसेस अफ हिन्दू बिलिफ नामक पुस्तकका अनुसार तेलमा घिउभन्दा आठ गुणा शक्ति रहेको हुन्छ, जुन मसाजको माध्यमले प्राप्त गर्न सकिन्छ । तापमान कायम राख्न तेलको मसाज जरुरी हुने उनले लेखेका छन् ।
पाथीभरा आयुर्वेदिक अस्पताल, काठमाण्डौका चिकित्सक डा. बीपी तिमिल्सिना माघे संक्रान्तिमा उपभोग गरिने सामाग्रीबाट शरिरको आन्तरिक तापक्रम र पौष्टिकता प्राप्तिमा उल्लेख्य सहयोग पुग्ने बताउँछन् । ‘यस बेला गरिने सबै क्रियाकलापमा वैज्ञानिकता छ’ उनी भन्छन् ‘धर्म र संस्कारसित मात्र जोडेर हेरिनु हुँदैन ।’
माघे संक्रान्तिको बिहानै नदी, पोखरी वा पानीको स्रोतमा पुगी नुहाउने प्रचलन छ । कतिपयले घरैमा नुहाउने गर्छन् । नुहाइसकेपछि तिलको आगो ताप्ने चलन छ । यसबाट शरीरमा ताप प्रवाह हुने गर्दछ । धुनीको वरिपरि परिवारका सबैजना बसेर मिष्ठान्न भोजन खान्छन् । कतिपयले धुनीको तापले वर्षभरि गरिएको पापबाट मोक्ष मिल्ने विश्वास पनि गर्छन् ।
माघ १ का दिन तिलौराको रुपमा तिल दान गर्ने चलन छ, जुन सुन दान गरिएसरह हुने धर्मशास्त्रमा उल्लेख छ । धर्मसिन्धुमा भनिएको छ ‘माघे संक्रान्तिमा जसले तिल, घिउ, चाकु, तरुल आदि खाँदैन, जलाशयमा स्नानसमेत गर्दैन, तीर्थध्यान गर्दैन, त्यो व्यक्ति जन्मभर रोगी हुन्छ ।’
आज थारु समुदायको नयाँबर्ष माघी पर्व
थारु समुदायका मानिसले आज माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउँदैछन् । यस अवसरमा पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारु समुदायका मानिसले स्नान, दान, एवम् खानपीन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने गरिएको माघी पर्वको अध्ययन अनुसन्धानमा लाग्नुभएका कृष्णराज सर्वहारीले जानकारी दिए ।
“आफूभन्दा ठूलासँग आशीर्वाद लिई सानालाई आशीर्वाद दिने गरिन्छ, बहिनी र छोरीलाई विशेष दान दिने संस्कृति थारु समुदायमा छ”–उनले भने विसं २०५७ साउन १ गते कमैया मुक्ति हुनुअघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन थियो । यसैले यस पर्वलाई उन्मुक्तिको पर्व भनेर थारु समुदायमा चिनिन्छ ।
माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।
यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरुले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता पनि यस समुदायमा छ ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा पनि छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत समेत छ ।
गाउँका मुखिया, महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबैले माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि अगुवा छनोट गर्छन् । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ ।
नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाको प्रारम्भ हुनु अघिदेखि नै थारु समुदायमा माघ १ गते अगुवा चुन्ने प्रचलन थियो । २० वर्षसम्म स्थानीय निर्वाचन नहुँदा पनि थारु बाहुल्य भएका ठाउँ जनप्रतिनिधिविहीन नभएको अध्येता सर्वहारीले बताउनुभयो । थारु समुदायले वर्षभरी गरेका कामको समीक्षा आजैका दिन गर्छन् ।
विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई तराई क्षेत्रमा खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइँका लागि माघीका समयमा साइत हेर्न नपर्ने विश्वास पनि थारु समुदायमा छ ।