धरान । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरान उपमहानगरपालिकाले ५ जना श्रमिक महिलालाई सम्मान गरेको छ ।

धरान उपमहानगरपालिकाको आयोजना तथा महिला सञ्जाल धरानको सहआयोजनामा सोमबार आयोजित कार्यक्रममा श्रम गरेर परिवारको गुजारा चलाउने ५ जना महिलालाई सम्मान गरेको हो ।

मकै पोलेर व्यापार गर्ने, डोकोमा तरकारी बिक्री गर्ने, निर्माण क्षेत्रमा मजदुरी गर्ने महिलाहरु सम्मानित भएको महिला सञ्जमललेजनाएको छ । सम्मान पाउनेमा मकै पोलेर व्यापार गर्ने धरान १३ की शिवकुमारी तामाङ, भौतिक निर्माण क्षेत्रमा काम गर्ने धरान १७ की सीता परियार, डोकोमा तरकारी बोकेर बिक्री गर्ने धरान ८ की विष्णुमाया कट्वाल रहनु भएको छ । यस्तै, धरान ६ की तरकारी व्यापारी मैया गौतम र लेभर काम गर्ने धरान १५ की लक्ष्मी तामाङलाई पनि सम्मान गरिएको थियो ।

उहाँहरुलाई धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीले सम्मान पत्रसहित नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो । यस्तै, कोरोना महामारीको समयमा स्वाब संकलनमा फ्रन्टलाइनमा खटिने स्वास्थ्य प्राविधिक लुना अधिकारी र चन्द्रकला राईलाई पनि नगद सहितसम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा समान कामको समान ज्याला दिन प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको छ । उक्त प्रतिवद्धता पत्रमा मेयर, उपमेयर, निर्माण व्यवसायी संघ, महिला अधिकारकर्मीलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरान उपमहानगरका मेयर तिलक राईले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना व्यक्त गर्दै सबै पुरुष एकै नहुन सक्ने र सबै महिला एकै नहुन सक्ने बताउनु भएको छ ।
उहाँले समाजमा चल्दै आएको संस्कार, संस्कृति र परम्पराले गर्दा पुरुष कमाउनु जानुपर्ने, महिला घर गृहस्थि गर्नुपर्ने अवस्था आएको बताउनुभयो । समानता र सकरात्मक दृष्टिले हेर्नुपर्ने मेयर राईको भनाई थियो ।
निर्माण व्यवसायी संघका अध्यक्ष नारायण लिम्बुले महिलाहरुलाई समान कामको समान ज्याला दिने प्रतिवद्धता गर्नु भएकोछ । प्राध्यापक रुकमनी श्रेष्ठ, मिना पुलामी, पूर्व सांसद एवं साहित्यकार कुन्ता शर्मा, नेपाली कांग्रेस धरानका महिला विभाग प्रमुख पञ्चकला राई, संघीय लिम्बुवान महिला मञ्चकी अध्यक्ष सरस्वती सुब्बा, क्यूपेक नेपाल सुनसरीका अध्यक्ष बालकुमार श्रेष्ठ, जनता समाजवादी धरानका उपाध्यक्ष विना पुमा राईलगायत महिला अधिकारकर्मी सविता राईलगायतले समान कामको समान ज्याला दिन आग्रह गर्नु भएको थियो ।