धरान / धरानमा मृत्यु संस्कार (दाहसंस्कार) स्थल व्यवस्थापनमा समस्या र समाधान विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

शनिवार धरान ८ स्थित सभागृहको हलमा धरान प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित एक दिने मृत्यु संस्कार स्थल व्यवस्थापनमा समस्या र समाधान विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रनु भएका धरान उपमहानगरका नगर प्रमुख तिलक राईले शवलाई समाधिस्थल गर्ने जातिहरु र दाहसंस्कार गर्ने जातिहरुले निश्चित क्षेत्रलाई पहिचान गरी गुरुयोजनाकै रुपमा कार्ययोजना बनाएर आए धरान उपमहानगरपालिकाबाट मात्र होइन प्रदेश केन्द्र र अन्य दाताहरुबाट समेत सो क्षेत्र र स्थलहरुको विकासको लागि बजेट व्यवस्थापन गर्न पहल गर्ने बताउनु भएको छ ।
अति विपन्नहरुका लागि हाल उपमहानगरपालिकाले निःशुल्क शब भ्यान उपलब्ध गराईरहेको तथा मलामी खर्च ३ हजार रुपैयाँसम्म सहयोग गर्न सक्ने बताउनुभयो । नगर प्रमुख राईले धरानका दाहसंस्कार स्थलहरुलाई व्यवस्थित गर्न तत्काल ४, ५ लाख रुपैयासम्मको प्रभावकारी योजना आए तुरुन्तै कार्यन्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रमका संयोजक प्राज्ञ शुभचन्द्र राईले धरानमा रहेका विभिन्न १८ वटा जातीय संस्थाहरुबाट प्राप्त प्रतिवेदनको आधारमा तयार गरिएको कार्य योजना प्रस्तुत गर्नुभयो । कार्यशाला गोष्ठी धरान प्रज्ञा प्रतिष्ठानका संयोजक प्राज्ञ अम्बिका सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सदस्य प्राज्ञ गोपाल देवानले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।