इटहरी / नेपाल पत्रकार महासंघको चुनावी अधिवेशन नजिकिदै जाँदा दिनहुँजसो पत्रकारसँग सम्बन्धित संघ, संगठनका भेला र सम्मेलनहरु भइरहेका छन् । भेला र सम्मेलनमार्फत ती संघ, संगठनहरुले आफ्ना नेताहरुलाई महासंघको आगामी नेतृत्वका लागि प्रस्तुत पनि गरिरहेका छन् ।
यसै सन्दर्भलाई मध्यनजर गर्दै दलित पत्रकार मञ्चले सुनसरीको इटहरीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र धरानबाट प्रकाशित प्रवोध साप्ताहिकले अन्तरक्रिया सम्पन्न गर्न सहयोग गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा सहभागि दलित समुदायबाट पत्रकारिता गरिरहेका प्रतिनिधिहरुले अब आफूहरु विभेदको अन्त्य गर्न मिसन पत्रकारितामार्फत अघि बढ्ने बताउनु भयाे । उहाँहरुले स्थानीय सरकारदेखि संघीय सरकारले दलित समुदायले संचालन गरेका मिडियालाई अनुदान उपलब्ध गराउनु पर्ने मागसमेत उठाउनुभएकाे छ ।
अन्तरक्रिया कार्यक्रममा आगामी हुने महासंघको निर्वाचनमा आफूहरुलाई सम्मानजनक रुपमा स्थान दिनु पर्ने मागसमेत यस समुदायका पत्रकारहरुले उठाएका छन् ।

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ सुनसरी शाखा सभापति अमर खड्का, प्रेस संगठन प्रदेश १ इन्चार्ज राजन केडी, सोही संगठनका सुनसरी संयोजक अर्जुन शर्मा, प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले विभेदमा परेको समुदायबाट पत्रकारिता क्षेत्रमा आउनेहरुलाई आफूहरु सँधै सहयोग गर्न तम्तयार रहेको बताउनुभएकाे थियाे । 
अन्तरक्रिया कार्यक्रममा पत्रकारहरु कृष्णकला राई, कवयित्री लता कार्की, रिकेश विश्वकर्मा, कलाकार इश्लाम गजमेरलगायतले आफ्ना भनाइहरु राख्नु भयाे । 

कार्यक्रमको संचालन इटहरीका अग्रज पत्रकार पिवी दियालीले गर्नु भएकाे थियाे । पत्रकार खिलानाथ विश्वकर्माको सभापतित्वमा अन्तरक्रिया कार्यक्रम अघि बढेको थियो । आगामी नयाँ वर्षको अवसर पारेर देशभरका पत्रकारलाई दलित पत्रकार मन्चमा आवद्ध गराउने कार्यका लागि अग्रज पत्रकार पिवी दियालीलाई जिम्मेवारी प्रदान गरिएको दलित पत्रकार मन्चका प्रवक्ता लम्जेल संघर्षशीलले जानकारी दिनुभयाे ।  पत्रकार महासंघको चुनावी सरगर्मी चढ्दै गर्दा यस्तो अन्तरक्रिया कार्यक्रम आयोजना गर्नु सान्दर्भिक भएको पत्रकारका नेताहरुले बताएका छन् ।