धरान / खानेपानी विवादले रोकिएको धरान उपमहानगरपालिकाको नगर सभा आज(शुक्रबार) सम्पन्न भएको छ । सभामा प्रस्तुत भएको संघसंस्था दर्ता सम्बन्धी बिधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित भएको छ ।
सोही सभाले विगतमा समायोजन गरिएका स्थानीय निकायका कर्मचारीहरुको समायोजन संशोधन गर्ने पनि निर्णय गरेको छ । वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले दिएको जानकारी अनुसार कार्यअवधि ५ बर्ष पुरा भएका र योग्यता भएकाहरुलाई एक तह बढुवा हुने छन् ।
विशेष गरेर यो नगरसभा कानुन निर्माण गर्ने सभा हो । तर उपमहानगरपालिकाले कुनै कानुन भने निर्माण गर्न सकेन । कानुन निर्माणको जिम्मा उपमेयर मञ्जु भण्डारी माताहतमा छ । तर उहाँ पार्टी संगठन विस्तारमा बढि क्रियाशिल हुँदा नयाँ कुनै कानुन नबनेको एक अधिकृतले जानकारी दिनुभयो । ‘यो सभा विशेष कानुन निर्माण र काम नहुने योजनामा भएको बजेट स्थान्तरण गर्न बस्ने हो ।’–उहाँले भन्नु भयो ।
सभाले भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको लगत संकलनको म्याद सकिएकाले लगत संकलन गर्न म्याद थपको लागि पत्रचार गर्ने निर्णय भएको मेयर तिलकराईले जानकारी दिनुभयो । आयोगले लगत संलकन फारम भर्न दिएको ३५ दिने समयको म्याद फागुन १४ गते सकिएको थियो ।