धरान । धरानलाई खानेपानी वितरण गदैं आएको नेपाल खानेपानी संस्थान शाखालाई उपमहानगरले सञ्चालन गरेको खानेपानी व्यवस्थापन बोर्डमा आज औपचारिक रुपमा समायोजन गरिएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्षसमेत रहनु भएका धरान उपमहानगरका नगर प्रमुख तिलक राईले नेपाल खानेपानी संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा समायोजन भएको जानकारी गराउनु भयो ।
नगर प्रमुख राईले बोर्डका सदस्यहरु, उपमहानगरपालिकाको लामो छलफल, समझदारी र जिज्ञासाहरुको एक अर्कामा समायोजन भएर बोर्डको फागुन १६ गते बसेको बैठकको निर्णय अनुसार १७ गतेबाट लागू हुने गरी नेपाल खानेपानी संस्थान, धरान शाखाको सम्पति, दायित्व र जिम्मेवारीहरु धरान खानेपानी व्यवस्थापन बोर्डमा औपचारिक रुपमा हस्तान्तरण भएर सञ्चालन गरिएको बताउनुभयो ।
संस्थानको संरचना बोर्डमा समायोजन गरिएकोले अब एकद्धार प्रणालीबाट पानी वितरण हुने र सहज हुने उहाँले बताउनुभयो । नगर प्रमुख राईले संस्थानले आफ्नो संरचनालाई इन्टरकनेक्सन गर्न नदिदा ठेकेदार कम्पनीले निर्माण कार्य अघि बढाउन नसकेको र समस्या भएको बताउनुभयो । ठेकेदार कम्पनीले काम शुरु गरिसकेको र म्याद सकिएको परामर्शदाता कम्पनीले पुनः काम शुरु गरेकोछ । नगर प्रमुख राईले अहिले संस्थान मात्र बोर्डमा समायोजन गरिएको बताउनुभयो । खानेपानी आयोजना परीक्षणकालमा रहेकोले जिम्मा लिने नलिनेबारे पछि निर्णय गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विज्ञ समिति निर्माण भएकोछ, त्यसलाई धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले नै निर्माण गरेर, अनुमोदन गरेर विज्ञहरुले डिपिआर अध्ययन गरिरहनु भाछ, सम्पूर्ण डकुमेन्टहरु अध्ययन भइसकेकोछ र अध्ययन सँगसँगै उहाँहरु फिल्डमा आएर, यहाँ पनि आएर अध्ययन गरेर हामिलाई प्रतिवेदन दिनुहुन्छ ।’ उहाँले नेपाल सरकारको खरिद ऐन रहेको बताउँदै प्रतिवेदनमा खरिद नियम अनुसार प्रक्रिया भयो कि भएन, भ्रष्टचार, प्राविधिक, नितिगत कुराहरु, सतहमुनिको पानी र सतहमाथिको पानीको बारेमा सबै प्रतिवेदनमा आउने बताउनुभयो । विज्ञ टोलीले प्रतिवेदन बुझाएपछि यसबारेमा निर्णय लिइने नगर प्रमुख राईको भनाई छ ।
यस्तै बोर्डले आगामी वैशाख मसान्तसम्म खानेपानीको शुल्क तिरेमा विलम्व शुल्क नलिने घोषणा गरेको छ । नगर प्रमुख राईका अनुसार खानेपानीको न्युनतम शुल्कलाई १३० रुपैयाँमा समायोजन गरिएको छ । यस्तै, ३० हजार लिटरभन्दा माथि पानी खपत भएमा प्रतियुनिट ४० रुपैया लिइनेछ । यसअघि, बोर्डले न्युनतम शुल्क २२० रुपैयाँ लिदै आएको थियो । नगर प्रमुख राईले आगामी वैशाख मसान्तसम्म विगतको शुल्क तिरेमा विलम्ब शुल्क वा जरिवाना नलिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘खानेपानीको १० युनिटसम्मको न्युनतम शुल्क १३० रुपैयाँ कायम गर्ने निर्णय भएको छ ।’ १० हजार माथि ३० हजार लिटरसम्म थप ६ सय रुपैयाँ लिने निर्णय भएको छ ।
अहिले आयोजनाको चारकोशेस्थित जंगलमा रहेको ४ वटा ट्यु वेलबाट ७० लाख लिटर र साविक संस्थानको ४ वटा ट्युबेलबाट ५३ लाख लिटर प्रतिदिन पानी उत्पादन भइरहेको छ ।
यता धरान १७ स्थित उदय वन क्षेत्रमा रहेको आयोजनाको ट्यु वेलबाट थप ३० लाख लिटर पानी उत्पादन भइरहेको छ । बोर्डको कार्यकारी निर्देशक राजु पोख्रेलका अनुसार आयोजनाले भुमिगत स्रोतबाट ९२ लाख लिटर प्रतिदिन पानी उत्पादन गर्ने लक्ष्य लिएको तर, उत्पादन लक्ष्यभन्दाबढी १ लाख लिटर भइरहेकोछ ।