धरान । धरानका मेयर तिलक राईले प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा २५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीले स्थापना गरेको प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा मेयर राईले आज (बुधबार) २५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो । मेयर राईको मासिक रुपमा आउने तलब पार्टीको कोषमा जम्मा हुन्छ । त्यो कोषबाट मेयर राईले प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा उक्त रकम सहयोग गर्नु भएको हो ।  

फोनिजको तर्फबाट गठन गरिएको तीन सदस्यीय समितिका संयोजक जनकऋषि राईले मेयर राईले २५ हजार रुपैयाँ सहयोग गरेसँगै याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा १ लाख रुपैयाँ पुगेको बताउनुभयो ।
उहाँले उक्त कोषमा १ लाख रुपैयाँ पुर्याउने लक्ष्य रहेको बताउँदै त्यो आज पुरा भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो अग्रज पत्रकार, नेपाल पत्रकार महासंघ सुनसरीको पूर्व अध्यक्ष याम प्रधान, उहाँ चाँहि नेपाल पत्रकार महासंघ केन्द्रिय समितिबाट पनि प्रेस स्वतन्त्रता सेनानी भन्ने सम्मान पाइसक्नु भाको, र नेपाल पत्रकार महासंघ सुनसरीको पनि पूर्व अध्यक्ष भइसक्नु भाको, अनि उहाँको सम्मानमा हामीले प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोष राख्ने अभियान फोनिजले, त्यसको लागि मेयरसाबसंग कुराकानी गरेका थियौं, आदिवासी पत्रकारहरुको अहिलेसम्म कोष पनि छैन, हाम्रो सोच यस्तो छ भनेपछि उहाँले आदिवासी जनजाति पत्रकारहरुलाई सहयोग पुग्ने गरि र आदिवासी पत्रकारहरुको श्रीवृद्धिको लागि २५ हजार रुपैयाँ दिनुभयो ।’