धरान / धरानमा खानेपानी वितरण गदैं आएको खानेपानी संस्थानको धरानस्थित शाखालाई उपमहानगरको खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरिएको छ ।
धरान उपमहानगरपालिका तथा बोर्डले संस्थानको जिम्मा लिएको सार्वजनिक नगरिए पनि सोमबारदेखि मर्ज गरिएको बोेर्डले जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार संस्थानको सम्पत्ति, दायित्वलाई आइतबार नै बोर्डमा हस्तान्तरण गरिएको छ । केही दिनमा मर्ज भएको विषयमा उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरेर नगरवासीलाई जानकारी गराउने तयारी भएको निर्देशक पोखरेलले जानकारी दिनुभयो । संस्थाका कर्मचारी सोमबारदेखि बोर्डमा हाजिर हुने सम्झौतासमेत भएको छ ।
संस्थानका कुन कुन कर्मचारी बोर्डमा रहन र केको संस्थामै फर्कने भन्ने कर्मचारीलाई रोज्न लगाइएको बताइएको छ ।
यसअघि ४३ जना कर्मचारीहरु बोर्डमा रहने इच्छुक भएका थिए । सोही अनुसार नामको सुची बोर्डमा पठाइएको थियो । पछिल्लो समय संस्थानलाई जिम्मा लिएर बोर्डमा मर्ज नगरेको भन्दै कार्यपालिका बैठक र गएको नगरसभाको उद्घाटनको दिन मेयर राईको जनप्रतिनिधिहरुले नै चर्र्को विरोध गरे पछि सभा नै स्थगित भएको थियो । यसपछि मेयर राईलाई संस्थानको सम्पत्ति तथा दायित्व छिटो जिम्मा लिन दबाबमा पर्नु भएको थियो । जनप्रतिनिधिहरुले आठौं नगरसभा रोक्ने गरि विरोधमा उत्रिएपछि फागुन २१ गतेभित्रै संस्थान जिम्मा लिएर मर्ज गर्ने र एकद्धार प्रणालीबाट पानी खुवाउने प्रतिवद्धता उहाँले जनाए अनुसार मर्ज गरिएको हो ।