अमेरिकी नियामक निकायले तेस्रो कोभिड खोप स्वीकृत गर्दै जोन्सन एन्ड जोन्सनको एक मात्रा लगाए प्रभावकारी हुने खोपलाई अनुमति दिएको छ।

फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले स्वीकृत गरेको सो खोप फाइजर र मोडेर्नाको खोपभन्दा सस्तो एवम् सामान्य चिसो तापक्रममा राख्न सकिने खालको छ।

परीक्षणमा यो खोपले गम्भीर बिरामी हुनबाट बचाउने र समग्रमा ६६ प्रतिशत प्रभावकारी भएको देखिएको छ।

यो खोप बेल्जियमको कम्पनीले निर्माण गरेको हो।

सो कम्पनीले अमेरिकालाई जून महिनाको अन्त्यसम्ममा एक अर्ब मात्रा उपलब्ध गराउने वाचा गरेको छ। अमेरिकी नागरिकका लागि पहिलो मात्रा खोप अगामी साता उपलब्ध हुने बताइएको छ।

यूके, ईयू र क्यानडाले खोप मगाइसकेका छन् भने कोभ्याक्सले गरिब राष्ट्रहरूका लागि पाँच अर्ब मात्रा मगाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले स्वीकृतिलाई सबै अमेरिकीको लागि खुशीको खबर भन्दै कोभिडविरुद्धको सङ्घर्ष नसकिएको बताए।

उनले एउटा विज्ञप्तिमा भनेका छन्: "हामी आजको समाचारले खुशी भए पनि म सबै अमेरिकलाई हात धोइरहन, सामाजिक दूरी कायम राखिरहन र मास्क लगाइरहन अनुरोध गर्छु।"

अमेरिका, दक्षिण अफ्रिका र ब्रजिलमा गरिएको परीक्षणमा यो गम्भीर बिरामी हुनबाट जोगाउन ८५ प्रतिशत प्रभावकारी देखिएको छ र सामान्य लक्षण भएका सङ्क्रमणहरू जोड्दा यसको प्रभावकारिता ६६ प्रतिशत देखिएको छ।

यो खोपको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको खोप लगाएका व्यक्तिहरूको मृत्यु नभएको र खोप लगाएको २८ दिनपछि सङ्क्रमण भएका कोही पनि अस्पताल भर्ना हुनु नपरेको नतिजा हो।

नयाँ प्रकारको कोरोनाभाइरसमा यो कम प्रभावकारी देखिए पनि त्यसविरुद्ध पनि गम्भीर बिरामीको हकमा यो प्रभावकारी नै रहेको बताइएको छ। अमेरिकाबाहेक बहरेनले यो खोपलाई बिहीवार स्वीकृति दिएको थियो। बीबीसी