धरान । प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन र सभा गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस केन्द्रीय समितिले घोषणा गरेको कार्यक्रम अनुसार आज देशभर विरुध सभा हुन लागेको हो ।

सुनसरीको धरानमा पनि कांग्रेसले विरोध प्रदर्शन र सभा गर्ने भएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला आउने भएको छ । केन्द्रिय सदस्य एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि विरोधसभालाई सम्बोधन गर्न धरान आउने नेपाली कांग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले जानकारी दिनु भयो ।

आज (सोमबार) बिहान साढे ११ बजे छाताचौकमा भेला भएर धरान नगरपरिक्रमा सहित विरोधसभा सुरु हुने कार्यक्रम तय भएको छ । विरोधसभामा नेता डा. कोईरालासहित एक दर्जन भन्दा बढी नेताहरुले संबोधन गर्ने बताइएको छ । आजको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध ऐक्यवद्धता प्रकट गर्न नेपाली कांग्रेस धरानका सचिव श्याम पोख्रेलले आग्रह गर्नुभएको छ ।

सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादका कारण प्रधानमन्त्री ओलीले संविधान मै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको आरोप छ । संसद विघटनको विषय सर्वोच्च अदालतमा बहसको विषय बनेको छ । प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ । नेकपाको कुर्सी मोहले देश बर्वादीमा पारेको कांग्रेसको ठहर छ ।