धरान / घाटीमा चक्कु राखेर लुटपाट गरेको घट्ना सेलाउन नपाउदैं धरानमा फेरी दुई यातायात मजदुरमाथि आक्रमण भएको छ । सडकमा हिडिरहेका दुई यातायात मजदुरमाथि शुक्रबार राती १०बजे अपरिचित व्यक्तिले आक्रमण गरेको छ ।
कोशी राजमार्ग अन्तर्गत धरान–८ यामाहा शो रुम नजिक शुक्रबार राती करिव १० बजे हतियारधारी युवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
गाडी थन्काएर कोठातर्फ गइरहेका चालक राजु विश्वकर्मा र सारांश पोखरेललाई अपरिचित दुई युवाले आक्रमण गरेका थिए । आक्रमण गर्ने ती युवाबारे पहिचान खुलेको छैन् ।
पोखरेलको टाउकोमा चोट लागेको छ । अर्का चालक विकलाई पनि ढाड पछाडि हतियारले प्रहार गरे पनि बाक्लो लेदरको ज्याकेट भएकोले शरीरमा चोट नलागेको बताइएको छ । उनीहरुले तत्काल प्रहरीलाई खवर गरे पछि पहरी घट्नास्थल पुगेर आक्रमणकारीको खोजी गरे पनि फेला पार्न नसकेको पोखरेलले जानकारी दिनुभयो । आक्रमणकारी विरुद्ध प्रहरीमा लिखित उजुरी आए पछि उनीहरुको खोजी गरि फक्राउ गरिने इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिनु भयो ।
गत बिहिबार दिउँसो धरान–६ पानवारीमा घरमा एक्लै भएको मौकामा ७५ बर्षीया जसमाया लिम्बुको सुनको सिक्री र कानको मारवाडी लुटपाट गर्नेलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् । दिउसै लिम्बुलाई चक्कुले पनि घाँटी रेटेर हत्या गर्ने प्रयास गरेका थिए । उहाँको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको हिजो साँझमात्र होस खुलेको छ । घर मै आइरहने व्यक्तिले हत्या प्रयास गरेर लुटपाट गरेको हुन सक्ने प्रहरीले जनाएको छ । इन्स्पेक्टर ओलीका अनुसार दोषीको पहिचान भएको पक्राउ गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।