काठमाडौं / पछिल्ला पाँच वर्षमा बलात्कारका ११ हजार घटना त दर्ता भएका छन् । सबैभन्दा डरलाग्दो तथ्य, पीडितमध्ये पाँच हजार बालिका छन् ।

बलात्कारविरुद्ध संगठित सामाजिक आक्रोश व्यक्त भएको निर्मला पन्त प्रकरणपछि बेतडीकी भागरथी भट्टको बलात्कार घट्ना हो । तर, अहिलेसम्म न उनको अपराधी भेटिएको छ न बलात्कारको अत्यासलाग्दो शृंखला रोकिएको छ । बरु साउन ०७५ मा कञ्चनपुरकी निर्मला पन्तदेखि माघ ०७७ मा बैतडीकी भागरथीसम्म आइपुग्दा देशमा तीन हजार तीन सय ४७ बालिका बलात्कृत भएका छन् । अपराध लुकाउन १७ जना पीडितको हत्या भएको तथ्याङ्क छ ।

यो अढाई वर्षमा बलात्कारबाट पीडित तीन हजार तीन सय त बालिका मात्र हुन् । योबीचमा ६ हजार आठ सय ४४ जनाको बलात्कार भएको छ । यसरी कुल बलात्कारमध्ये आधा त बालिका नै छन् । पछिल्लो साढे दुई वर्षमा बलात्कारपछि १७ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ । बलात्कारको अपराध लुकाउन गत साउनयता मात्रै चारजनाको हत्या भएको छ । आर्थिक वर्ष ०७६÷७७ मा दुई तथा ०७५÷७६ मा ११ जनाको हत्या भएको थियो ।

पछिल्लो अवस्थामा बलात्कार वा प्रयासका दैनिक सात घटना प्रहरीमा दर्ता हुने गरेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्मका ६ महिनामा बलात्कार तथा प्रयासका एक हजार दुई सय ६० वटा घटना दर्ता भएका छन् । पीडितमध्ये आधा बालिका छन् ।

गत आर्थिक वर्ष ०७६÷७७ मा देशभर दुई हजार आठ सय ३१ महिला बलात्कृत भए । त्यसमध्ये एक हजार तीन सय ९३ जना अर्थात् ४९ प्रतिशत १८ वर्षमुनिका नाबालिका छन् । त्यसमा पनि दुई सय ७३ बालिका त १० वर्षभन्दा कम उमेरका छन् ।

त्यस्तै वर्ष ०७५÷७६ मा दुई हजार सात सय ५३ बलात्कार घटना भएका थिए जसमध्ये बालिकाको संख्या एक हजार दुई सय ३२ छ ।

महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीको तथ्यांकअनुसार सात वर्षमा कुल बलात्कारको संख्या पनि दोब्बर भएको छ । आर्थिक वर्ष ०७०÷७१ मा एक हजार तीन सय ५६ महिला बलात्कारको सिकार भएका थिए । तर, आव ०७६÷७७ मा दुई हजार आठ सय ३१ महिला बलात्कृत भए ।

हरेक वर्ष बलात्कृत हुने नाबालिकाको संख्या पनि डरलाग्दो गरी बढिरहेको छ । आव ०७०÷७१ मा पाँच सय ५९ नाबालिका बलात्कारको सिकार भएका थिए । गत आवमा आइपुग्दा बलात्कृत नाबालिकाको संख्या एक हजार तीन सय ९३ पुगेको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार आफन्त र छिमेकीबाटै धेरै बलात्कारका घटना भएका छन् । ‘एक वर्ष नपुगेका बालिकामाथि पनि बलात्कार भएका छन् । धेरैजसो घटना आफन्त र चिनजानकै व्यक्तिहरूबाट भएका छन्,’ प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

चेतना बढेकाले विगतमा लुक्ने गरेका घटना पनि अहिले प्रहरीमा आउने भएकाले अपराध बढेको देखिने प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बताउँछन् । ‘बलात्कारका घटना बढेका पनि छन्, त्यसमा पनि पहिले सहेर बस्ने चलन थियो, अब चेतना बढेकोले कानुनको सहारा लिन खोज्ने प्रयास पनि भएको छ,’ उनले भने ।

५० प्रतिशतभन्दा धेरै घटना आफन्त तथा नजिकका व्यक्तिबाट हुने गरेको प्रहरी तथ्यांक छ । बलात्कार घटनामा बालबालिका पीडित हुने क्रमसमेत बढ्दो छ । एक वर्ष नपुगेका बालिकाको पनि बलात्कार भएका घटना दर्ता भएका छन् ।
भागरथी भट्टको बलात्कार पछि हत्या –पोस्टमार्टम रिपोर्ट
बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । घटना भएको पाँचौँ दिन जिल्ला अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको स्पष्ट भएको हो । तर, दोषीको सुराग भेटिएको छैन ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले पोस्टमार्टम रिपोर्ट प्राप्त भएको बताउनु भयो । डिएनए अनुसन्धानका लागि स्वाब आइतबार नै प्रहरीको केन्द्रीय प्रयोगशाला पठाइएको प्रहरीले बताएको छ । नयाँ पत्रिका दैनिकबाट