काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले गरेको बन्दले आज देशैभरको जनजीवन प्रभावित भएको छ । विभिन्नस्थानमा झडपसमेत भएको प्रहरीले जनाएको छ । छोटा तथालामो दुरीको सवारीहरु चलेनन् ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेको उहाँले बताउनु भयो । धरान, विराटनगरलगायतका पूर्वका विभिन्न शहरबाट बन्दकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा केन्द्रीय नेता, युवा संघका नेता तथा कार्यकर्ता रहेका छन् ।

गृह मन्त्रालयले पूर्ववत् रूपमा निर्धक्क भएर यातायात व्यवसाय, उद्योगधन्दा तथा पेसा–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । 
विराटनगरमा ६ जना पक्राउ
मोरङको विराटनगरमा ६ आन्दोलनकारी पक्राउ परेका छन् । सवारी तोडफोडको आरोपमा विराटनगरको बरगाछीदेखि पूर्वतर्फबाट प्रचण्ड नेपाल समूहका कार्यकर्ता पारुल क्षेत्री शारदा मैनाली मिरा दाहाल, सँगम चौधरी उमेश ढुँगाना र चम्पा कार्कीलाई पक्राउ गरिएको एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । प्रहरीका अनुसार धनकुटाबाट विराटनगर आएको स्वाथ्य तालिम केन्द्रको बा ११ झ ९११८ नम्बरको गाडीमा आन्दोलनकारी ढुँगा प्रहार गरेका थिए । ढुँगा प्रहारबाट गाडीमा क्षती पुगेको प्रहरीको भनाई छ ।
धरानबाट ३ जना बन्दकर्ता पक्राउ

आमहडताल सफल बनाउन धरानको भानुचोकमा खटिएका नेकपाको प्रचण्ड माधव समुहका कार्यकर्ताहरु पक्राउ परेका छन् । युवा संघका नगर सहसंयोजक विजय लामा, नगर सदस्यहरु खड्गबहादुर पौडेल र जीवन राई पक्राउ परेका छन् । । जर्बजस्ती यातायात अवरुद्ध गराउन खोजेको कारण नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताउनुभयो । यस अघि बन्दकर्ता र मजदुरविच झडपसमेत भएको थियो ।
जनकपुरमा प्रहरी र प्रदर्शनकारी बिच झडप
जनकपुरको शिवचोकमा प्रहरी र प्रदर्शनकारी बिच भएको झडपमा घाइते चार जनालाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ । प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका पूर्वमन्त्री रामचन्द्र झा, मातृका यादव, सहिद नगरपालिकाका मेयर उदय बरबरिया र प्रदिप साहलाई काठमाडौं रिफर गरिएको छ ।

टाउकोमा गम्भीर चोट लागेका झाको अत्यधिक रक्तश्राव भएको र अवस्था बिग्रिन सक्ने भएकोले थप उपचारकालागि काठमाडौं रिफर गरिएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ । सरकारले संसदीय सुनुवाइविनै संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै उक्त पार्टीले त्यसको विरोधमा बन्द आह्वान गरेको हो ।