उदयपुर / महिला उद्यमीहरुको व्यवसाय बिस्तार गर्न तथा नेपाल सरकारबाट अनुदान प्राप्त बैंकिङ कर्जाका बारेमा जानकारी गराउन उदयपुर जेसीजले महिला उद्यमी कर्जाबारे सचेतनामूलक कार्यक्रम गरेको छ ।
उदयपुर जेसीजकी अध्यक्ष शर्मिला थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सानिमा बैकका ऋण विभागका प्रमुख विष्णु कार्कीले गर्नु भएको थियो ।
त्रियुगा नगरपालिका वडा नं. १२ का मुस्लिम र मधेशी समुदायका करीब ३५ जना महिलाहरुको सहभागिता रहेको सो कार्यक्रममा महिला उद्यमीहरुले सहुलियतपूर्ण कर्जा कसरी लिने ? कर्जाको ब्याजमा कसरी अनुदान प्राप्त गर्ने ? तथा धितो बिना कति रकमसम्म कर्जा लिन सकिन्छ ? भन्ने सम्बन्धमा जानकारीहरु प्रदान गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
करिब १५ वर्षदेखि एकल नेतृत्वमा काष्ठ उद्योग (काठ मिल) सञ्चालन गरिरहेकी महिला उद्यमी हीरावती ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको संयोजन उदयपुर जेसीजकी सदस्य सोनिका राईले गर्नुभएको थियो ।
उदयपुर जेसीजले विगत ५ दिनदेखि महिला, बालबालिका तथा समुदायमा समर्पित रही कार्यक्रमहरु आयोजना गरिरहेको छ ।