धरान / नेकपा ओली समुहको अखिल नेपाल महिला संघ धरान उपमहानगर कमिटीले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ ।
आइतबार धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको हलमा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको हो । संघकी धरान अध्यक्ष लहरु जिमीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो । प्रशिक्षणमा संघको उपमहानगर कमिटीका ९५ जना सदस्यहरु सहभागी भएको आयोजकले जनाएको छ ।
संघका सदस्यहरुलाई नेकपा केन्द्रीय सदस्य तथा अनेमसंघ सुनसरी जिल्ला इञ्चार्ज लक्ष्मी गौतम र नेकपा केन्द्रीय सदस्य मुरारी सुवेदीले प्रशिक्षण दिनुभएको थियो । गौतमले अनेमसंघको इतिहास, महिला आन्दोलन, संगठनको संरचना र विस्तारबारे जानकारी गराउनुभयो । यस्तै नेता सुवेदीले नेकपाका कार्यकर्ताहरुलाई सम्वृद्धि र विकासको पाटोमा जानकारी गराउनु भएको थियो । प्रशिक्षण कार्यक्रममा नेकपा केन्द्रीय सदस्य मोतिराज सुनुवारले पनि प्रशिक्षणात्मक मन्तव्य राख्नु भयो ।
नेतृ गौतमले संघको धरान उपमहानगर कमिटीलाई वैठक बसेर वडा इञ्चार्ज, सहइञ्चार्ज तोक्ने निर्देशन पनि दिएकी सचिव सविता राईले जानकारी दिनुभयो । केन्द्रीय निर्देशन अनुसार संघको वडा कमिटी गठन गर्ने, सदस्य वितरण र नवीकरण गर्ने कार्यलाई तिव्र बनाइने बताइएको छ ।