धरान । सुनसरीका अग्रज पत्रकार गिरिराज आचार्यको नाममा सृर्जनशील पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको छ ।

नेपाली कांग्रेस धरान उपमहानगर समिति र नेपाल प्रेस यूनियन धरान उपहानगर समितिले बुधबार अग्रज पत्रकार गिरिराज आचार्यको नाममा सृर्जनशील पत्रकारिता पुरस्कार कोष स्थापना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठले एक लाख ५० हजार रुँपैयाको चेक प्रेस युनियनका जिल्ला अध्यक्ष पवन अधिकार, धरानका अध्यक्ष मात्रिकाप्रसाद नेपाललाई हस्तान्तरण गर्नु भयो ।
२०३४ सालमा तत्कालिन नेपाल पत्रकार संघ सुनसरीको जिल्ला शाखा गठन भएको थियो । उक्त संघको पहिलो जिल्ला सभापति धरानका अग्रज पत्रकार गिरिराज आचार्य रहनु भएको थियो । पत्रकार संघ नै पछि नेपाल पत्रकार महासंघ बनेको हो । आचार्यकै पहलमा श्रमजीवी पत्रकारहरुको पहिलो संगठन प्रेस युनियनको जिल्ला शाखा पनि गठन भएको थियो । उहाँले २०२८ सालदेखि नै राजनीति र पत्रकारिता शुरु गर्नु भएको थियो । पत्रकार आचार्य आफैले दर्ता गरेर सम्पादन, प्रकाशनमा रहेको पूर्व टाइम्स साप्ताहिक पत्रिका २०४० सालदेखि हालसम्म निरन्तर प्रकाशन गरिरहनु भएको छ ।
नेपाली कांग्रेस धरानका सभापतिसमेत रहेका मेयर तिलक राईले उक्त पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न नगर समिति समक्ष राख्नु भएको प्रस्तावलाई नेपाली कांग्रेस धरान उपमहानगर समितिले सर्व सम्मत रुपमा पारित गरेको थियो । मेयर राईले आफ्नो तलब, भत्तालगायत सेवा सुविधा नलिने घोषणा गरे अनुसार प्राप्त हुने रकमबाट एक लाख ५० हजार रुपैयाँको पुरस्कार कोष स्थापना गरिदिएको उहाँले बताउनु भयो । युनियनका अध्यक्ष नेपालका अनुसार पुरस्कार कोषको उद्देश्य अनुसार निष्पक्ष रुपमा मूल्यांकन गरी प्रत्येक वर्ष एक जना पत्रकारलाई १५ हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरिने छ ।