धरान / नेकपा ओली समूहले धरानमा वृहत युवा भेला गरेको छ । भेलामासूर्य चिन्ह आफ्नै पार्टीले पाउने र निर्वाचन जित्ने दाबी गरेको छ ।

बुधबार धरानमा राष्ट्रिय युवा सङ्घ सुनसरीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा नेताहरुले निर्वाचन पछि पनि सूर्य चिन्हसहित जनता माझ गएर ओलीकै नेतृत्वमा सरकार बन्ने दावी गरे ।

कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश एकका आन्तरिक मामिला एवं कानुन मन्त्री हिक्मत कार्कीले ओली नेतृत्वको नेकपा नै मूल पार्टी रहेको बताउनुभयो ।

‘उहाँले प्रचण्डलाई सूर्य चिन्हको दाबी गर्ने कुनै हक नभएको समेत बताउनुभयो ।

यता नेकपाका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले ओली र माधव नेपालको बहुलट्टीपनले पार्टी भित्र सङ्कट आएको आरोप लगाउनुभयो । ओलीले बाध्यात्मक अवस्थामा संसद् विघटन गरी निर्वाचनको मिति घोषणा गर्नुपरेको उहाँको भनाई थियो ।

कार्यक्रममा सुनसरीका विभिन्न स्थानबाट नेकपा ओली सम्बद्ध युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रम सुरु हुनुअघि पब्लिक हाइस्कुलको खेलमैदानबाट निस्किएको जुलुसले नगर परिक्रमा गरी र्‍याली कार्यक्रम स्थल चुम्लुङ भवनमा पुगेको थियो ।
कार्यक्रममा नगर,जिल्ला, प्रदेश तथा केन्द्रीय नेताहरको पस्थिति रहेको थियो ।