इटहरी / पुष्पकमल दाहाल ढप्रचण्डण र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई अघि बढाउन परिचालन समिति गठन गरेको छ ।
सुनसरीको इटहरीमा शनिबार सो पार्टीद्वारा आयोजित विस्तारित बैठक तथा भेलामा १५ सय ९१ सदस्यीय आन्दोलन परिचालन समिति घोषणा गरिएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इन्चार्ज धर्म निरौलालाई आन्दोलन परिचालन समितिको संयोजक तोकिएको छ । त्यसैगरी, आन्दोलनलाई व्यवस्थित बनाउन ३५ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ । त्यसैगरी विभिन्न उपसमिति पनि गठन गरिएको छ । जिल्लाका संगठन विभाग प्रमुखको नेतृत्वमा स्वयम् सेवक परिचालन उपसमिति गठन गरिएको छ भने पार्टी प्रदेश कमिटि सदस्य मुक्सामहाङ्ग मेन्याङ्बो (मुकेश)को नेतृत्वमा स्रोत परिचालन उपसमिति गठन गरिएको छ ।

प्रचार–प्रचार उपसमितिको संयोजकमा प्रेस संगठन प्रदेश १ संयोजक राजन केडी रहनुभएकाेछ ।  भेलाले आन्दोलन परिचालन समितिको अनुमोदनसमेत गरेको छ ।

विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले ओली कम्युनिष्टको बंशनासको अभियानमा अघि बढेको आरोप लगाउनुभयाे ।  उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले सरकार र कम्युनिष्ट पार्टीलाई बर्बाद बनाएको बताउनुभयाे । उहाँले भन्नुभयाे -ओलीलाई पार्टी र सरकार बोकाको मुखमा कुभिण्डोजस्तै भयो ।’ आचार्यले ओली तत्कालीन एमालेको केन्द्रीय कमिटि बैठकमा गणतन्त्रको ऐजेण्डमा जान नमानेको पनि खुलाउनुभयाे । 
भेलालाई सम्बोधन गर्दै आन्दोलन परिचालन समिति संयोजक धर्म निरौलाले प्रधानमन्त्री केपी ओलीले पहिलेदेखि नै नेपाल कम्युनिष्ट पार्टीलाई विभाजनको दिशामा धकेलेको आरोप लगाउनुभयाे । ‘ मदन भण्डारी फाउण्डेशनको नाममा ओलीले पार्टी विभाजनको सुरुवात गरेका हुन् ।’ फाउण्डेशनको नाममा राज्यको सम्पत्ति दुरुपयोग समेत भएको छ ।' -उहाँले भन्नु भयाे -' प्रधानमन्त्री हुनका लागि ओलीले पार्टी एकता गरे, अनि भइसकेपछि पार्टी फुटाए ।  पार्टीलाई दक्षिणपन्थी धारमा लगेर विर्सजन गरे ।'

भेलामा उपस्थित अगुवा नेता तथा कार्यकर्ताहरुलाई पार्टी केन्द्रीय सदस्यहरु रामकुमारी चौधरी, निर्मल बराल, महफुज अन्सारी र किरण राईले प्रतिगमन विरुद्धको आन्दोलनमा डटेर लाग्न निर्देशन दिनुभयाे । साथै पार्टीको जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डल पार्टीको तल्ला कमिटिहरुको बैठक राखी आन्दोलनको तयारी गर्न निर्देशन दिनुभयाे ।