नेकपाको प्रचण्ड–नेपाल समूहले संसद् विघटनको विरोध र संविधानको रक्षाका लागि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार पत्रकार सम्मेलनमार्फत प्रचण्ड–नेपाल समूहले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

२० पुसदेखि २३ माघका लागि घोषित आन्दोलनमा कालो झन्डा, मोटरसाइकल ¥यालीदेखि काठमाडौंसहित सातवटै प्रदेशमा विरोध सभासम्मका कार्यक्रम छन् । १६ र १७ माघमा बागमतीबाहेकका प्रदेश र २३ माघमा राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै पार्टी प्रवक्ता श्रेष्ठले सबैलाई सहयोग र सहभागिताका लागि अपिल गरे ।

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिगमन नसच्चिएसम्म संघर्ष जारी रहने, संघर्षको रूप शान्तिपूर्ण हुने स्पष्ट पारेको छ । ‘हामी पुनः स्पष्ट रूपले जोड दिन चाहन्छौँ, असंवैधानिक कदमलाई पूर्ण रूपमा असफल पारेर प्रतिनिधिसभा सुचारु नगर्दासम्म र प्रतिगमनको खतरालाई निस्तेज नपार्दासम्म हाम्रो संघर्ष जारी रहनेछ । हाम्रो आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुनेछ,’ विज्ञप्तिमा छ ।

 आन्दोलनका कार्यक्रम

  • घोषित कार्यक्रममा २० पुसमा पालिकास्तरमा र २५ पुससम्म वडास्तरमा पार्टी भेला, संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम
  •  २५ पुसमा प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन गर्ने, २१ पुसमा संघीय राजधानी र विभिन्न सहरी केन्द्रहरूमा राजनीतिक पार्टीहरूसँग अन्तक्र्रिया कार्यक्रम र २३ पुसमा नागरिक समाजसँग व्यापक अन्तक्र्रिया 
  • २४ पुसमा सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र र संविधानको पुस्तक दिने तथा राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने
  • २६ पुसमा सडक संविधान वाचन–व्याख्या कार्यक्रम गर्ने, २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ र २८ पुसमा प्रदेश २, गण्डकी र कर्णाली प्रदेश तथा २९ पुसमा बागमतीमा बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रम गर्ने 
  •  २८ पुसमा घरघरमा पर्चा वितरण र गाउँगाउँ, टोलटोलमा कालोझन्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडाहरूमा ब्यानर राख्ने,
  • २९ पुसमा निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला गर्ने,
  • ५ माघमा सबै पालिकामा विरोध प्रदर्शन र सभा गर्ने,
  • १० माघमा राजधानीलगायत सबै सहरी केन्द्रहरूमा मोटरसाइकल ¥याली गर्ने,
  • १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विरोध प्रदर्शन र सभा तथा
  • १७ माघमा प्रदेश २ मा विरोध प्रदर्शन र सभा गर्ने 
  • २२ माघमा वडा तहमा देशव्यापी मसाल जुलुस गर्ने तथा २३ माघमा राजधानीमा विरोध प्रदर्शन र सभा गर्ने 
  • उद्योग व्यवसायीसँग अन्तक्र्रिया कार्यक्रम र लेखक–कलाकार, संस्कृतिकर्मी र बुद्धिजीवीको विशिष्ट प्रकारको कार्यक्रम आयोजना गर्ने,
  • स्थानीय पार्टी र जनवर्गीय संगठनका सिर्जनात्मक कार्यक्रमलाई पनि निरन्तरता दिइने