धरान / सीमा क्षेत्रबाट तस्करीको सामान ओसारपसारमा सहयोग गर्ने वहानामा सेवाग्रहाीबाट घुस लिएको आरोपमा एक जनपथ प्रहरीका हवल्दारलाई अख्तियार अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
सुनुसरीस्थित इलाका प्रहरी कार्यालय हरिनगरामा कार्यरत प्रहरी हवल्दार भोला यादवलाई शुक्रबारआयोगको टोलीले नियन्त्रणमा लिइएको हो ।
हरिनगर–४ बजार क्षेत्रबाट ६ हजार रकम लिएका यादवलाई इटहरीस्थित अख्तियारका कर्मचारीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभएको छ । सेवाग्राहीबाट अतिरिक्त रकम लिई तत्कालै खाजा होटल संचालन गर्ने स्थानीय विनोद साहीलाई पैसा राख्न दिइएको पाइएको अखितयारले जनाएको छ । उनीसँगै खाजा पसलका व्यापारी विनोद साह समेतलाई नियन्त्रणमा लिएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
यस्तै सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) सिकन्दर प्रसाद कानु विरुद्ध विहीबार अख्तियारले विशेष अदालतमा मुद्वा दायर गरेको छ ।
चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीके टोलीले सई सिकन्दरप्रसाद कानुलाई सेवाग्राहीसँग ५० हजार घुस वापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।
अनुसन्धानबाट ती सई कानुले रकम लिएको प्रमाणित भए पछि मुद्वा दायर गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । कार्यालयमा राखेको मोटरसाइकल फिर्ता दिने बहानामा सेवाग्राहीसँग ५० हजार – घुस माग गरी उक्त रकम पसलमा लगि राखेको अवस्थामा बरामद भएको अख्तियारले जनाएको छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहर गदैं विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।