धरान । संसद विघटनको विरुद्धमा सोमबार नेपाली कांग्रेसले धरानमा विरोध प्रदर्शन गरेको छ ।

संसद विघटन विरुद्ध देशैभर आन्दोलन गर्ने कार्यक्रम अनुसार कांग्रेसले धरानमा पनि विरोध प्रर्दशन गरेको हो । धरानमा भएको विरोध कार्यक्रममा कांग्रेस नेता– कार्यकर्ताले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संसद पुनःस्थापनाको माग गरेका छन् । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको विरोधमा चर्को नारावाजी गरेका थिए । धरानको छाताचौकबाट सुरु भएको विरोध र्याली भानुचौकस्थित लोकतान्त्रिक चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विरोधसभामा नेपाली कांग्रेस सुनसरीका जिल्ला सचिव सुजेन्द्र गोले तामाङले प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको भन्दै आपत्ति जनाउनु भयो । ‘दलहरुको आन्तरिक झगडाको कारण, भ्रष्टाचार, राजनिति नियुक्ति गर्ने कुराहरुमा भागबण्डा नमिलेर, पदको विषयमा कुरा नमिलेर आज मुलुकलाई वर्बाद र दुर्घटनाको अवस्थामा पुर्याएकोछ’ उहाँले भन्नुभयो ।, ‘केपी ओलीको यस्तो कदमप्रति नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ ।’ उहाँले ओलीको असंवैधानिक कदमलाई समर्थन गर्ने औंठाछापे राष्ट्रपतिको विवेक नै नभएको आरोपसमेत लगाउनु भयो । उहाँले भन्नुभयोे, ‘राष्ट्रपतिलाई सहि र गलत छुट्याउन आउँदैन ।’ आफ्नो सल्लाहकार र विज्ञहरुसँग कुनै परामर्श नगरी राष्ट्रपतिले सिधै लालमोहर लगाएको उहाँको भनाईथियो । साथै राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको कठपुतली बनेको भन्दै उहाँले राष्ट्रपति भण्डारीले पदको मर्यादा कायम गर्न नसकेको बताउनुभयो । ओली र राष्ट्रपतिको कदमले गर्दा मुलुकमा राजावादीहरुको चलखेल बढेर गएको कांग्रेसको ठहर छ ।

विरोध सभामा सम्बोधन गर्दै प्रदेश नं. १ का पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले प्रधानमन्त्री ओली समुह र प्रचण्ड नेपाल समुहबिच स्वास्र्थको लेनदेन नमिलेर संसद विघटन हुने स्थितिमा पुगेको बताउनुभयो । संविधान मिचिएको कुरालाई लिएर ओलीको सर्वसत्तावाद विरुद्ध कांग्रेस उपस्थित हुन बाध्य भएको उहाँले भन्नुभयो । कम्युनिष्ट सरकार कोरोना नियन्त्रण तथा रोकथाम गर्नुको सट्टा भ्रष्टचार लिप्त भएको उहाँको भनाई थियो । यो असंवैधानिक कदम भए पनि यसको निर्णय गर्ने अधिकार सर्वोच्च अदालतको रहेको बताउनुभयो । सर्वोच्च अदालतले जे निर्णय दिन्छ त्यो कांग्रेसले मान्ने उहाँले बताउनुभयो । यस्तै विरोधसभामा विघटन प्रतिनिधिसभाकी सांसद एवं नेतृ मिना सुब्बाले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संसद विघटन गरेर संवैधानिक कु गरेको आरोप लगाउनुभयो । उहाँले कम्युनिष्ट सरकारले जनताले सात दशक संघर्ष गरेर ल्याएको संविधानलाई कुठाराघात गरेको बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठ, धरान नगरसभापति तथा धरान उपमहानगरपालिकाका मेयर तिलक राईलगायतले सम्बोधन गर्नुभएको थियो ।