धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको होस्टलमा रहेका एक इन्टर्न डाक्टरले बाहिरबाट साथी ल्याएर होस्टल तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राती करिब ११ बजे रोशन यादव र उनका साथी केशव यादवले रक्सी खाएर मातेर्र होस्टलमा तोडफोड गरेको प्रतिष्ठामन होस्टल प्रशासनले जनाएको छ । घटनालगतै उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । उनीहरुले झ्याल ढोकाको शिसा फुटाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार मादकपदार्थ सेवन गरेका यादवले सप्तरी भारदहका साथी केशव यादवलाई लिएर होस्टल पुगेका थिए । प्रतिष्ठानको नियम अनुसार होस्टलमा विद्यार्थीबाहेक अन्य व्यक्तिहरुलाई प्रबेश निषेध गरिएको छ । सुरक्षाका लागि प्रत्येक होस्टलमा सेक्युरिटी गार्ड राखिएको छ । तर यादवले गार्डलाईसमेत धम्काएर प्रवेश गरेको बताइएको छ ।
तोडफोडमा संलग्न इन्टर्न यादव पटक पटक कानुनी कारबाहीमा परेका व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ । एक बर्ष प्रतिष्ठानमा अस्पतालल निर्देशक प्राडा गौरीशंकर साहको नाममा ४ लाख ८० हजारको चेक काटेर पैसा निकालेको आरोपमा उनलाई कारवाही भएको थियो । उनले विना हेलमेट मोटरसाइकल चलाएर ट्राफिक कारवाहीमा परे पछि प्रहरीलाई नै रडले हानेर घाइते बनाएको मुद्धामा उनलाई कारवाही गरिएको थियो ।
हिजो राती नै पक्राउ गरिएको उनीहरुलाई सोमबार अदालतमा म्याद थप गरि कारवाही अगाडी बढाइने डिएसपी बस्नेतले जानकारी दिनुभयो । सप्तरी भारदह घर भएको यादव बिपी प्रतिष्ठानबाट एविविएस सकाएर एक बर्ष इन्टर्न कोर्ष गदैं थिए ।