विराटनगर  / आफूविरुद्ध लागेको आरोपमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्बोलाई बर्खास्त गर्नुभएको छ । योसँगै प्रदेशमा पनि किचलोशुरु भएको छ ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएसँगै त्यसको असर प्रदेश १ सरकारमा देखिन शुरु भएको छ ।

मुख्यमन्त्री राई प्रधानमन्त्री ओली समूहका हुन् भने मन्त्री आङ्बो पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमा रहुन भएको छ । उहाँले तत्काल अविश्वासको प्रस्ताव ल्याउन आवश्यक नभएको सार्वजनिक अभिव्यक्ति दिदैं आए पनि उहाँ माथि अविश्वासको प्रस्ताव ल्याउन अगुवाई गरेको मुख्यमन्त्री राईले आरोप लगाउनुभएको छ ।

प्रदेश १ मा प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको चर्चासँगै मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई बर्खास्त गर्नुभएको हो । संविधानको धारा १६९ को (२)ख बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीले बर्खास्त गरेपछि मन्त्री आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा ‘प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा दुई वर्ष १० महिना काम गर्ने अवसर दिएकोमा माननीय मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

दाहाल–नेपाल समूहले आइतबार नै प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । त्यसको सामाना कसरी गर्ने भन्ने मुख्यमन्त्रीले पनि गृहकार्य थालेका छन् । अविश्वासको प्रस्ताव आउनु अगावै प्रदेश सांसद भंग गर्ने सम्भावना बढेको एक ओली निकट सांसदले जानकारी दिनुभयो ।