धरान / नेकपा स्थानीय तह संसदीय दलले ख्रीष्टमस डे मा स्थानीय विदा दिन धरान उपमहानगरपालिका कार्यापालिकामा निर्णय गराउन सिफारिस गरेको छ ।
आज विहान संसदीय दलकी नेता तथा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको अध्यक्षतामा बसेको बैठकले क्रिष्मसमा स्थानीय विदा दिनेसहित २२ वटा विषयमा निर्णय गरेर कार्यालय पठाइएको हो ।
नेकपा संसदीय दल सदस्य नारायण सुवेदीका अनुसार धरान उपमहानगरपालिकाले छान्न लागेको उत्कृष्ट पर्यटकीय वडाका रुपमा धरान–२० स्थित विष्णुपादुकालाई छान्न दलबाट निर्णय गरेको छ । प्रसिद्ध विष्णुपादुकी मन्दिर, ऐतिहासिक साँगुरी गढी, सुलिकोटलगायत धार्मिक, प्राकृतिक, ऐतिहासिक वडाको रुपमा वडा नं. २० लाई पर्यटकीय ग्रामको रुपमा विकास गर्न दलको बैठकले निर्णय गरेको छ ।
आजै बस्ने कार्यापालिका बैठकमा दलले निर्णय गरेका विषयमा छलफल गरि निर्णय हुने संसदीय दलकी नेता भण्डारीले जानकारी दिनुभयो ।
ख्रीष्टमसको अवसरमा धरान ख्रीष्टिय समाजद्वारा बुधबार साँझ आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा विदाको माग गरिएको थियो । सरकारले दिदै आएको सार्वजनिक विदा कटौती गरिएकोमा असन्तुष्टी जनाउदै पाष्टर हिमाल राईले स्थानीय सरकारले भए पनि सार्वजनिक विदा दिने निर्णय गर्न आग्रह गरेका थिए ।  समाजका अध्यक्ष शिबकुमार राईले ख्रीष्टमस पर्व विश्वव्यापी भएको र नेपालको संबिधानले प्रत्यायोजन गरे अनुरूप समान हकका आधारमा स्थानीय सरकारले सार्वजनिक बिदा दिनुपर्ने बताउनुभएकाे थियाे । 

सोही मागलाई मध्यनजर गरेर नेकपा संसदीय दललेआज यस्तो निर्णय गरेको हो ।