धरान /  नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै धरानमा प्रदर्शन गरेको छ ।

आइतबार दिउँसो धरानको छाताचोकबाट नेविसंघ र तरुण दलले सिठ्ठी जुलुश प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको हो । छाता चोकबाट सुरु भएको सिठी जुलुस भानुचोकमा आएर कोणसभामा परिणत भएको थियो । नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस धरानका कार्यबाहक सभापति दोर्ची शेर्पाका अनुसार नेपाल विद्यार्थी संघ क्षेत्रीय समिति १ तथा धरानका ४ वटा क्याम्पस एकाई समिति साथै तरुण दल धरान नगर समितिले सिट्ठी जुलुसमा सहभागिता जनाएका थिए ।
ईञ्जिनियरिङ क्याम्पसका नेविसंघ सभापति सुजन खडका, हात्तिसार क्याम्पसका नेविसंघ सभापति रुपेस कट्वाल, महेन्द्र बहुमुखी क्याम्पसका नेविसंघ कार्यबाहक सभापति दोर्ची शेर्पा, पिण्डेश्वर क्याम्पसका नेविसंघ सभापति सरोज अधिकारीले कोणसभामा संम्बोधन गर्नु भएको थियो ।
यस्तै नेविसंघ सुनसरीका उपाध्यक्ष नवराज ढुंगाना र तरुण दल धरानका उपाध्यक्ष नरसिंह राईले पनि सम्वोधन गर्नु भयो । केही दिनअघि तनहूँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार, सरकारका गलत क्रियाकलाप र मोरङको मिक्लाजुङ शिक्षक हत्या काण्ड विरुद्ध धरानमा सिठी प्रदर्शन गरेका थिए । नेविसंघले ओली सरकार कोरोनाको नाम लिएर कमाउ धन्दामा लागेको समेत आरोप लगाए ।

विद्यार्थी नेताहरुले भोली हुने कांग्रेसको देशब्यापी विरोध प्रदर्शनलाई सफल पार्न आह्वान पनि गरेका छन् । कांग्रेसले भोलि (सोमबार) देशका ७७ वटै जिल्लामा सरकार विरुद्ध प्रदर्शन गर्ने भएको छ । सुनसरीमा जिल्ला सदरमुकाम इनरुवामा आयोजना गरिदैं छ ।