धरान / धरान १९, चौकीबारी निवासी एक लाहुरी दम्पतिले एचआइची संक्रमित तथा प्रभावित एकल महिलाहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।
भूपू शैनिक केवलबहादुर सेरेङ लिम्बु र श्रीमति आइतीमाया सेरेङ लिम्बु तथा परिवारले उनीहरुलाई विहीबार सहयोग प्रदान गर्नु भएको छ ।

यस्तै बालबालिकाको शिक्षाका लागि रु २५ हजारको अक्षय कोषमा समेत सहयोगगर्नु भएको छ । उहाँहरुले २५ हजार बराबरको खाद्यान्न सहयोग गरेको सेरेङ परिवारले जनाएको छ । साथै, २५ हजार एचआइभी संक्रमित तथा प्रभावित बालबालिकाहरुको शिक्षाको लागि स्थापित हातेमालो अक्षय कोषलाई सहयोग गरेको केवल बहादुर सेरेङ लिम्बुले जानकारी दिनुभयो । केवलबहादुर श्रीमति आइतीमाया, छोरा बुहारी, छोरी ज्वाई तथा नाती, नातिनाहरु स्वय उपस्थित भएर सहयोग प्रदान गरिएको थियो ।

धरान पोजेटिभ समुहको कार्यालयमा एकल महिलाहरुलाई खाद्यान्न वितरण गरिएको थियो । १० जना संक्रमित महिला र १५ जना प्रभावित एकल महिलाहरुलाई खाद्यान्न वितरण गरिएको हो । उनीहरुलाई १५ केजी चालम, १ केजी न्युटेला, १ केजी नुन, तेल, दाल र मटर वितरण गरिएको थियो। खाद्यान्न वितरण कार्यक्रममा अग्रज पत्रकार जनकऋषि चाम्लिङ, दाता परिवारका कान्छी छोरी रोमकुमारी लिम्बु, धरान पोजेटिभ समुहका अध्यक्ष खगेन्द्र खड्का, उपाध्यक्ष आलोक गुरुङ, पत्रकार सञ्जय याक्खालगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष खड्काका अनुसार २०७२ सालमा धरान रन नेवा च्यारिटी कार्यक्रमबाट एचआईभी संक्रमित तथा प्रभावित बालबालिकाहरुको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले हातेमालो कोष शुरुवात गरिएको थियो । आज थप भएको २५ हजारसहित कोषमा ६ लाख ८ हजार जम्मा भइसकेको पनि उहाँले जानकारी दिनुभयो । ‘हामीले १२ पटक शैक्षिक सामग्री वितरण कार्यक्रम गरिसकेका छौं, कोषको ब्याजमा अन्य दाताको पनि रकम थप गरेर विरतण गछौं,’उनले भने,‘यसपाली कोभिडले गर्दा शैक्षिक सामग्री भन्दा पनि खाद्यान्न नै वितरण गर्यौं । फेरि शैक्षिक सामग्री नै वितरण गछौं ।’–खड्कालेभन्नु भयो ।