धरान / सुनसरी एक नं क्षेत्रमा रहेका एक हजार विपन्न परिवारको घरको फुसको छाना हटाउन सरकारले निःशुल्क जस्तापाता दिनेभएको छ ।
सुनसरी क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य जयकुमार राईको पहलमा सुनसरीका एक हजार परिवारको फुसका छाना हटाउन जस्तापाता व्यवस्था गरिएको हो ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सुनसरी एक नं क्षेत्रमा रहेको धरान उपमहानगरपालिका, रामधुनी नगरपालिका र बराहक्षेत्र नगरपालिकाका एक हजार विपन्न परिवारको फुसको छानो हटाएर जस्तापाटा जडान गरिने माननीय जयकुमार राईले जानकारी दिनु भयो । उहाँका अनुसार यस वर्ष धरानका ३ सय ३१, रामधुनीको २ सय २४ र बराहक्षेत्रका ४ सय ४५ परिवारलाई जस्तापाता जडान गर्न प्रति परिवार ५० हजार नगद प्रदान गरिने छ ।

राईको अध्यक्षतामा जिल्ला समन्वय समितिको कार्यालयमा धरान उपमहानगरका मेयर तिलक राई, बराहक्षेत्रका मेयर निलम खनाल, रामधुनीका मेयर जयप्रकाश चौधरीसहितको बैठक बसी तत्कालै जस्तापाता लगाउन सुरु गरिने निर्णय भएको छ ।
विपन्न परिवार जहिल्यै असिना–पानी, आगलागी, हावा हुण्डरीलगायतका प्राकेृतिक विपत्तिबाट जोखिममा पर्ने भएकाले फुसको छाना हटाउन पहिलो चरणमा एक हजार परिवार छनौट गरिएको सांसद राईले जानकारी दिनुभयो ।

शहरी विकास मन्त्रालयले तीनवर्ष भित्र देशभरीबाटै फुसको छानो हटाइसक्ने योजना ल्याएको छ । सोही कार्यक्रम अन्तर्गत सुनसरीका तीन स्थानीय तहमा एक हजार परिवारको फुसको छाना हटाउन लागिएको हो ।