धरान / धरान उपमहानगरपालिकामा कोरोना सङ्क्रमितको श्वास प्रश्वासमा समस्या भएर मर्नेको सङ्ख्या बढे पछि उपमहानगरको १४ नं. वडाले अक्सिजन तथा बाफ लिने मेसिन खरिद गरि वडामा रहेको स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको छ ।
अस्पतालमासमेत अक्सिजन अभाव हुन थाले पछि वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको आफ्नै पहलमा तीन लाख बराबरको स्वास्थ्य सामाग्री स्वास्थ्य केन्द्रलाई शुक्रबार हस्तान्तरण गर्नु भएको हो ।
भट्टराईका अनुसार दुई थान अक्सिजन कन्सन्ट्याटर मेसिन(अक्सिजन लिने मेसिन), ३ थान पल्स अक्सिमिटर(वाफ लिने मेसिन), एक थान स्टिम गन सेनिटाइजर, २५ थान डिजिटल थर्मोमिटरलगायतको सामाग्री स्वास्थ्य केन्द्र प्रमुख चन्दकला राईलाई हस्तान्तरण गरिएको हो ।
वडावासी कसैलाई कोरोना सङ्क्रमण भएर श्वासप्रश्वासमा समस्या भए घर मै पुगेर सेवा दिन स्वास्थ्यकर्मी चन्द्रकला राई, केन्द्रकुमारी बस्नेत र रुमा अधिकारीको टोलीलाई तैनाथ गरिएको वडाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । ‘जुनसुकै समयमा कसैलाई आवश्यक परेको बेला उहाँहरुले घर मै पुगेर अक्सिजन दिनु हुने छ । त्यसको कुनै शुल्क लाग्ने छैन् ।’–अध्यक्ष भट्टराईले भन्नु भयो –‘धरानका २० वटै वडाले दुई ÷दुई वटा अक्सिजन मेसिन किन्ने हो भने ४० वटा हुन्छ । यसले धेरैको ज्यान बचाउन सकिन्छ ।’ अन्य वडाहरुले पनि सिकुन भनेर आफुहरुले काठमाडौंबाट स्वास्थ्य सामाग्री ल्याएको वडाध्यक्ष भट्टराईले जानकारी दिनु भयो ।
आइतबारबाट धरान–१४ का जनताको घर घरमा पुगेर सेवा दिने तयारी भएको स्वास्थ्य शाखा प्रमुख चन्द्रकलाले जानकारी दिनु भयो ।
धरानमा अक्सिजन बेड अभावमा १५ जनाभन्दा बढिको होम आइसोलेसनमा बसेका सङ्क्रमितको मृत्यु भएको उपमहानगरपालिकाले जनाएको छ । यहाँ रहेको कोभिड–१९ अस्पतालमा पनि अक्सिजन अभाव छ ।

oxyzen meter