धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत दुई कर्मचारीको कोरोनाका कारण ज्यान गएको छ ।
प्रतिष्ठानको आकास्मिक कक्षमा कार्यरत २८ बर्षीय रेडियोग्राफरको आज साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सप्तरीको महादेवा–६ घर भएका रेडियोग्राफरको दिशा पातलो हुने, ज्वरो आउनेलगायतको समस्या भएपछि आजै अस्पतामा भर्ना गरिएको थियो ।
प्रतिष्ठानका सह– प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार दिउँसो एक्कासी सास फेर्न गाह्रो भए पछि अस्पताल भर्ना गरिएको थियो । कुनै रोग नभएका उनलाई मृत्यु पश्चात पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको थियो । उनको साँझ ५ः४० बजे मृत्यु भएको बताइएको छ ।
यस अघि प्रतिष्ठानकै एक महिला कर्मचारीको मृत्यु भएको थियो । छात्रा होस्टलमा कार्यरत ६० बर्षीय महिला कर्मचारीको १५ दिन अघि मृत्यु भएको हो । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८० पुगेको सहप्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ । प्रतिष्ठानमा नर्स, चिकित्सक,कर्मचारीलगायत गरि ५ सय भन्दा बढिलाई सङ्क्रमण पुष्टि भइसकेको छ ।