धरान /बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ ।
दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।
धरानको दद्कादतकालीऽ ठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने प्रचलन छ ।
यस्तै, काभ्रेस्थित पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगञ्जको गहवामाई, सप्तरीको छिन्नमस्ता, जनकपुर राजदेवी, डडेल्धुरा उग्रतारालगायत पीठहरुमा पूजाआराधना हुन्छ ।
दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीक मानेर चामल, सुनचाँदीका गहना, सुपारी, जनै र नैवेद्यसहित नौ वटा वस्तुको दुर्गा थापी पूजा गर्ने चलन छ । किसानले फलामे औजारको पूजा गर्छन् । यस्तै, सवारीधनीहरुले आफ्ना साधनलाई बलिसहित पूजा गर्छन् ।
पशुबली नचढाउनेहरुले पूजाकोठामा मूला, कुभिन्डो, घिरौंलालगायत तरकारीको बलि दिने गर्छन् ।
कतिपय स्थानमा दुर्गा भवानीलाई खीर र नरिवल चढाउने चलन पनि छ । हनुमानढोकास्थित दशैंघरमा आज मध्यरातमा शक्तिरुपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँ हुन्छ ।
आजको दिन महाकालीस्वरुपा भद्रकालीको विशेष पूजा गर्ने गरिएको छ ।
प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ बिथोल्ने उद्देश्यले भद्रकाली करोडौं योनी–शक्तिका साथ आजकै दिन प्रकट भएको विश्वास छ । १६ वटा पूजा सामग्रीका साथ भद्रकालीको पूजाआराधना गर्छन्, भक्तजनले ।
शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्रीलगायत नवदुर्गाका स्वरुपहरुको पूजा गर्ने गरिन्छ ।
पूजा सकिएपछि बोका, कुखुरा, हाँस, खसी, राँगो आदिको बलि दिइन्छ । महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रि मान्ने गरिएको छ ।
यस बर्ष शक्तिपीडहरुमा सर्वसाधारणलाई प्रवेश गर्न नदिए पछि प्रक्रिया पुरागर्नलाईमात्र शक्तिपीडहरुमा बलि दिइएको छ ।