धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।
आज(विहीबार) अस्पताल निर्देशक प्राडा गौरीशंकर साहलेएक सूचना प्रकाशित गरि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसारको शुल्क निर्धारण गरिएको जनाए ।
कात्तिक–९ गते आइतबारदेखि लागु हुने गरि प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई ४ समुहमा वर्गिकरण गरेर सोही अनुसारको धरौटी राख्ने व्यवस्था लागु गरिएको छ ।
निर्देशक साहका अनुसार कुनै लक्षण नभएका सङ्क्रमितलाई ७ हजार धरौटी राख्नुपर्ने छ । प्रतिदिन २ हजार शुल्क तिर्नु पर्नेछ । हल्का लक्षण भएकाले १२ हजार धरौटी राखेर भर्ना हुन सकिन्छ । प्रतिदिन ३ हजार ५०० शुल्क तिर्नु पर्ने छ । मध्यम लक्षण भएका विरामीले ३५ हजार धरौटी बुझाउनु पर्ने छ भने प्रतिदिन शुल्क ७ हजार ५०० दिनुपर्नेछ । यस्तै, गम्भीर लक्षण भएका विरामीले ६० हजार धरौटी राखी १५ हजार शल्क तिर्नु पर्ने व्यवस्था गरिएको छ ।

आर्थिकरुपले विपन्न, अशक्त र असहाय नागरिक, असहाय एकल महिला, अपांगता भएका नागरिक, ज्येष्ठ नागरिकहरुहरुलाई भने लक्षण देखिएमा सिफारिश तथा परिचय पत्रको आधारमा निःशुल्क उपचार गर्ने जनाइएको छ । प्रतिष्ठानले पिसिआर परीक्षणका लागि दुई हजार २०० रुँपैया शुल्क तोकेको छ ।
यस अघि प्रतिष्ठानले सङ्क्रमितको उपचार निःशुल्क गदैं आएको भए पनि मन्त्रालयले शुल्क लिएर उपचार गर्न परिपत्र गरे पछि प्रतिष्ठानले शुल्क निर्धारण गरेको हो । सरकारले कोरोना सङ्क्रमितको हकमा १४ दिनसम्म आइसोलेशनमा बस्ने प्रावधान बनाएकोमा अहिले आएर लक्षण नदेखिएको हकमा १० दिनमै डिस्चार्ज दिने र एक सातासम्म बिरामी स्वयमले होम आइसोलेशनमा बस्नुपर्ने प्रोटोकल बनाएको छ । प्रतिष्ठानले पनि सोही प्रोटोकललाई लागु गर्ने जारी विज्ञप्तिमा भनिएको छ ।

तीन सय ९६ जनाको स्वाब प्रतिष्ठानले फर्कायो
शुल्क निर्धारण गरिए पछि धरान उपमहानगरपालिकाले हिजो बुधबार संकलन गरेको स्वाबको नमुना प्रतिष्ठानले फकाएको छ । स्वास्थ्य मन्त्रालयले निःशुल्क लिनु भने पछि उपमहानगरले सङ्कलन गरेको स्वाब परीक्षण नगरि फिर्ता गरेको हो ।

bp-pratisthan