आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना हो ।पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य ९जमरा० बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।
आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछन् । यी चार नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरुलाई ‘गुप्त नवरात्र’ भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् ।

नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन, कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । सावधानीपूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् । अर्थात् जुन(जुन कामनाले भगवतीको आराधना गरिन्छ ती सबै कामना सिद्ध हुने कुरा दुर्गासप्तशतीको देव्या कवचमा बताइएको छ ।
दशैं आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाइन्छ । शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।

पूजा गर्दा नौ दिनसम्म कुन(कुन दिन कसको र के(के सामग्री अर्पण गरी पूजा आराधना गर्ने भन्ने कुराको विशेष ख्याल राख्नुपर्दछ । वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा विधिपूर्वक दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ । सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आह्वान पूजन हुने गर्दछ । यसरी पूजन पश्चात् सप्तधान्य छर्नु पर्दछ । भगवती दूर्गा देवीका विभिन्न उपासना मन्त्रले आह्वान पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गर्नु पर्दछ ।

१. पहिलो दिन

घटस्थापना नवरात्रको पहिलो दिन हो । यस दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ । गाईको घ्यूबाट बनाइएका परिकार चढाएर शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ ।

२. दोस्रो दिन

दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ । कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि सख्खर चढाई ब्रहृमचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने बताइएको छ ।

३. तेस्रो दिन

तेस्रो दिन चन्द्रघण्टाको पूजा आराधना गरिन्छ । दुःख कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशिर्वाद हामी माथि सधैंभरि रहन्छ ।

४. चौथो दिन

चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ । साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुनेछ ।

५. पाँचौ दिन

पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरिन्छ । स्कन्धमाताको पूजा गरेमा व्यापार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने छ । यस दिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ ।

६. छैटौँ दिन

आकर्षण सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि नवरात्रीको छैटौं दिन कात्यायनी माताको पूजा आराधना गर्नुपर्दछ । यदि घरमा कुनै अविवाहित व्यक्ति हुनुहुन्छ भने र विवाहमा बाधा अवरोध परेको छ भने मह चढाएर माता कात्यायनीको पूजा आराधना गरेमा कार्यसिद्धि हुने छ ।

७. सातौँ दिन

नवरात्रको सातौं दिन अर्थात् सप्तमीमा पूजा कोठा वा दशैं घर मा फूलपाती भित्राउने चलन छ । यस दिन कालरात्रि भगवतीको पूजा गरिन्छ । कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकारा पाउनका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने छ । कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाको लागि यदि सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा बताइएको छ ।

सप्तमीको दिन तुलजा भवानीको यात्रा बिहान ९ बजेर २१ मिनेटमा र स्थिराशन बिहान १० बजेर २ मिनेटमा निर्धारण गरिएको छ ।

८. आठौँ दिन

महागौरी भगवतीको घटस्थापनाको आठौँ दिन पूजा तथा आराधना गर्नुपर्दछ । यस दिन महागौरीको पूजा आराधना गरेमा सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने कुरा पनि बताइएको छ ।

९. नवौं दिन

घटस्थापनाको नवौं दिन अर्थात् नवमी तिथिका दिन सिद्धिदात्री भगवतीको पूजा आराधना गर्नुपर्दछ । घ्यू चढाएर सिद्धिदात्रीको पूजा आराधना गरेमा अकाल मृत्युबाट बच्ने र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपर्ने शास्त्रमा उल्लेख छ ।

टीकाको उत्तम साइत कात्तिक १० गते १०:१९ बजे

दसैँ नौ रात र दश दिनको हुन्छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजााआराधना गरिने देवीलाई कात्तिक १० गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ ।

कात्तिक १० गते देवी विसर्जनको साइत बिहान १०स्११ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०स्१९ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । यस वर्ष कोरोनाबाट बच्न घरघरमै सुरक्षित रहेर मान्यजनबाट आशीर्वाद लिनुपर्ने छ । व्यक्तिको शरीर रहे मात्र चाडपर्व मनाउन सकिने भएकाले सुरक्षित तरिकाले दसैँ मनाउन समितिले आह्वान गरेको छ ।

पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रि जाग्राम रहेर पूजा लगाई धन, ऐश्वर्य प्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखिएको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

दसैँघरमा विशेष पूजा

परम्परानुसार काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा देवीको पूजाराधना शुरु हुन्छ । शनिबार बिहान चित्रा नक्षत्रको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।

दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजाराधना गरिन्छ । यस वर्ष महानवमीका दिन हनुमानढोकाको कोतमा दिइने ५४ बोका र ५४ राँगासहितको बलि भने कोरोनाका कारण स्थगत गरिएको उनले सुनाए।

रोजगारी, अध्ययन एवं अन्य कामविशेषले आफ्नो घर बाहिर रहेका मानिसहरु दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिने गरेका छन् ।