धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जिम्मेवार चिकित्सक, प्राध्याकहरु गैरजिम्मेवार भइदिदा प्रतिष्ठानमा कोरोना संक्रमण दर बढेको छ ।
पिसिआर टेष्ट गर्न स्वाब दिएर बैठक, भेला, गोष्टि तथा विमारी जाँच गर्न जाने गर्दा संक्रमण फैलिएको छ । मंगलबार नर्सिङका प्रमुखलाई उनले हिजो ९ बजे स्वाब दिएर मेट्रोनसहितको नर्सिङका विभागीय प्रमुखसँग बैठक बोलाएकी थिइन । ‘दुई घण्टासम्म हिजोसँगै बसेर छलफल गरियो । आज उहाँमा पोजेटिभ देखियो । पिसिआर टेष्ट गर्न दिएकोसमेत उहाँले भन्नु भएन ।’–बैठकमा सहभागी एक नर्सिङ विभागका प्राध्यापकले भने–‘यहाँ त जिम्मेवार व्यक्ति कै लापावाहीले संक्रमण फैलिएको छ ।’

ती प्रमुखले आइतबार पनि कार्यवहाक उपकुलपति प्राडा गुरुप्रसाद खनाल, रजिष्टार प्राडा मोहनचन्द्र रेग्मी, मेट्रो गायत्री राईलगायतको बैठक बोलाएकी थिइन । प्रतिष्ठानका जिम्मेवार व्यक्तिहरु नै संक्रमित भए पछि पनि हिडडुल गर्ने, ओपिडी जाने, बजार डुल्ने गरेका छन् । अस्पताल प्रशासनले उनीहरुको खासै निगरानीसमेत गरेको छैन् । ‘यहाँ कसैले कसैलाई टेदैंनन् जसलाई जे मन लाग्यो त्यही गरेका हुन्छन् । धरानमा बढि कोरोन फैलिएको प्रतिष्ठान भित्रैबाट हो ।’–प्रतिष्ठानका एक कर्मचारीले भने ।

प्रतिष्ठानम २५ जना भन्दा बढि नर्समा संक्रमण देखिएको छ । २५ भन्दा बढि इन्र्टन चिकित्सकहरु संक्रमित भएका छन् । ज्वालादारीमा काम गर्ने, चिकित्सक, कर्मचारीलगायत गरेर डेढ सय भन्दा बढि संक्रमित भएको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले जानकारी दिए । मंगलबार २५ जनामा कोरोना पोजेटिभ रिर्पोट आएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

सामान्यत पिसिआर टेष्टका लागि स्वाब दिए पछि रिर्पोट नआएसम्म होम क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ । सबै कर्मचारी चिकित्सकलाई स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको निर्देशक साह बताउछन् । बैठक बस्दा सामाजिक दुरी कायम गरेर बसेको सहभागी एक प्राध्यापकले दावी गरे ।