धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवाका लगि अनलाइनबाट विमारी दर्ता सेवा शुरु गरिएको छ ।
कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै सोमबारदेखि अनलाइन सेवा सुरु गरेको अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले जानकारी दिए । विमारी चिकित्सकलाई भेटनु अघि विमारीको विवरण दर्ता गर्नु पर्ने हुन्छ । सोका लागि प्रतिष्ठानले एप्स् नै निर्माण गरि मोबाइल मार्फत आफ्नो नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको हो ।

‘एन्ड्रोइड मोवाइलको प्लेस्टोरमा गई बिपीकेआइएचएस एप डाउनलोड गर्न सकिन्छ । त्यसमा व्यक्तिगत विवरण भर्ने र कुन विभागमा आफ्नो उपचार गर्नुपर्ने हो सो विभागको नाम दर्ता गरी ८ बजेभन्दा अगाडि नै टिकट गर्नुपर्ने प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

अनलाइन टिकटिङ गरेका बिरामीले ओपिडी काउण्टरबाट आफ्नो ओपिडी कार्ड लिएर सिधै आफुले चाहेको चिकित्सकको जान सकिने व्यवस्था गरिएको छ । कार्डको शुल्क आइएमइ पे वा खल्ती डटकमबाट पे गर्न सकिने व्यवस्था गरिएको निर्देशक प्राडा साहले जानकारी दिनु भयो । यो सेवासँगै अव कार्डका लागि घण्टौ लाइन बस्न नपर्ने भएको छ । यस अघि विमारी विहान ६ बजेदेखि लाइनमा बसेर ८ बजे विमारी दर्ता पूर्जा लिने गरेका थिए ।