ताप्लेजुङ / पर्यटन तथा नागरिक उड्यनमन्त्री योगश भट्टराईले कोरोनाका कारण बन्द भएका धार्मिक स्थलहरू १ कात्तिकदेखि खोल्ने बताएका छन् ।

भट्टराईले सुरक्षाका सबै मापदण्ड अपनाएर र निश्चित संख्या तोकेर धार्मिक स्थलहरुमा क्रमशः भ्रमण तथा अवलोकन खुल्ला गर्ने प्रस्ताव बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकमा लगिने बताएका छन् ।

ताप्लेजुङको ओलाङचुङगोलामा बुधबार सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट(बिओपी) को उद्घाटनपछि सुकेटार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीसँग यो प्रस्तावबारे परार्मश गरेको बताएका हुन ।

मन्त्री भट्टराइले आउँदो १ कात्तिकदेखि विराटनगरबाट पूर्वी पहाडका क्षेत्रहरूमा नेपाल एयरलाइन्सले उडान सुरु गर्ने पनि जानकारी दिए । अहिले पूर्वीपहाडका केही जिल्लाहरूमा काठमाडौंबाट मात्र उडान हुँदै आएको छ । विराटनगर–ताप्लेजुङ–विराटनगरको पनि उडान सुरु हुनेछ ।