धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा थप एक संक्रमितको निधन भएको छ ।
धरान–३ का ६४ बर्षीय एक पुरुषको मंगलबारविहान ४ः२० मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. आशिस श्रेष्ठले जानकारी दिए ।
मधुमेह, टिवीका विमारी उहाँलाई गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो । स्वाशप्रश्वासमा समस्या भए पछि उनलाई अस्पतालभर्ना गरिएको हो ।

असोज १२ गते नै उहाँका स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ४२ पुगेको छ । हालसम्म धरानमा १० जनाको कोरोना संक्रमणले निधन भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । सोमबार विहान प्रतिष्ठानमा तेह्रथुम र धरानका थप २ जनाको मृत्यु भएको थियो ।